‘मृत्युपछि सडेर-डढेर जाने अंग कसैको ज्यान बचाउँन काम लाग्छ भने किन दान नगर्ने ?’

320
Shares

काठमाडौँ, ४ साउन । परराष्ट्रमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य प्रदीपकुमार ज्ञवाली दम्पतीले मरणोपरान्त अंगदान गरेका छन् । शुक्रबार भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा पुगेर ज्ञवालीले परणोपरान्त अंगदान गर्ने मन्जुरीनामामा हस्ताक्षर गरेका हुन् ।

सोही अवसरमा उनकी पत्नी सरस्वती ज्ञवाली, परराष्ट्र मन्त्रालयका अधिकृत टीकाराम ज्ञवाली, भक्तपुर अस्पतालका पूर्व अध्यक्ष सुरेश न्यौपाने, वर्तमान अध्यक्ष मिलन सुवाल, मानव अंक प्रत्यारोपण केन्द्रका डा। रबि भूषण सुवाल लगायत १४ जनाले अंगदानको घोषणा गर्दै मञ्जुरीनामामा हस्ताक्षर गरेका थिए ।

मरणोपरान्त अंगदान गर्ने निर्णय लिए लगत्तै मन्त्री ज्ञवालीले फेसबुक टाइम लाइनमा अंगदान गर्न आफू र श्रीमतीले लिएको निर्णयबारे यस्तो स्टाटस लेखेका थिए : ‘बुढाबुढी दुबैले आज सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर पुगेर (मरणोपान्त)अंगदान गरेर आयौं ।जिन्दगीको त के भरोसा छ र ! जति दिन बाँचिन्छ, समाजमा थोरै भए पनि उज्यालो छर्दै बाँच्न सकियोस् र मृत्युपर्यन्त समेत कसैका लागि अलिकति भए पनि काम लाग्न सकियोस्- बस् यत्ति कामना छ ।’  शनिबार नेपाली हेल्थले मन्त्री ज्ञवालीसंग यसै विषयमा सम्छिप्त कुराकानी गरेको थियो ।

मरणोपरान्त अंगदान गर्ने मञ्जुरीनामा दिएर आउनुभयो यो तपाईँको आकस्मिक निर्णय कि पूर्वनिर्धारित ?
यो आकस्मिक निर्णय होइन । हामी बुढाबुढीले नै दुई तीन बर्ष अघि नै मरणोपरान्त अंगदान गर्ने निर्णय गरिसकेका थियौँ तर कामको व्यस्तताले मञ्जुरीनामा दिन सकिरहेका थिएनौँ । हिजो चाही फुर्सद निकालेर यो काम सम्पन्न गरेँ । अव हाम्रो इच्छा पुरा भएको छ ।

मरणोपरान्त अंगदान गर्नुपर्छ भन्ने प्रेरणा वा सोच कसरी आयो ?
मलाई दुईवटा कुराले उत्प्रेरित गरेको हो । पहिलो कुरा मैले मिर्गौला फेल कति समस्या हुन्छ भन्नेकुरा बुझेको छु । मेरा नजिकका कतिपय मित्रहरुको मिर्गौला फेल भएको छ । उहाँहरुले पाएको दुख कष्ट मैले बुझेको छु । लामो समय डायलासिसमा बस्दा र सहज ढंगले प्रत्यारोपण गर्ने मौका नपाउँदा कति समस्या हुन्छ भन्ने मैले देखेको छु । हामीले अंगप्रत्यारोपण सम्वन्धी कानुन त राम्रो बनाएका छौँ तर अंगदान सम्वन्धी चेतना अझै बढ्न सकेको छैन । त्यसैले अंग फेल भइसकेपछि प्रत्यारोपण गर्न अहिले पनि समस्या छ । कतिपयको अंगदाता नपाएर ज्यान गइरहेको अवस्था छ । दोस्रो कुरा हामीले कानून त बनायौँ अब यसलाई व्यवहारमा लागू गर्नका लागि पनि हामी आफै सहभागी किन नहुने भन्ने लाग्यो र यो निर्णयमा पुग्यौँ ।

चेतनाको कुरा गर्नुभयो, मरणोपरान्त अंगदान गर्ने कुरामा शिक्षित बर्ग भनिएकाहरु पनि हिच्किचाउने गरेका छन्, उनीहरुलाई तपाईँ के भन्न चाहनुहुन्छ ?
ठिक भन्नुभयो । यसैलाई चिर्नका लागि हामीहरुले यो अभियानमा लागेका हौँ । किनभने आफूमरेर पनि आफ्नो केही अंगले अन्य व्यक्तिको शरीर बचाउन काम लाग्छ भने त्यो अंग किन दान नगर्ने । किन डढाएर सक्ने? किन माटो मुनी पुर्ने ? यो कुरा सबैले बुझ्न जरुरी छ । अंगदान भनेको महानदान हो । नेपालमा अहिले मिर्गौला कलेजो, छाला, आँखा लगायतका अंगहरु मरणोपरान्त झिकेर अर्काको शरीरमा प्रत्यारोपण गर्न सकिन्छ । यसमा सबै व्यक्तिहरु लाग्नु जरुरी छ । यो अत्यन्तै पुन्यको काम पनि हो ।

नेपालमा मस्तिष्कमृत्यु सम्वन्धी कानुनको कार्यान्वयन अलि हुन सकिरहेको छैन ? तपाईँ यो कानुन बनाउँदा देखि नै जानकार हुनुहुन्छ ? के कारणले गति नलिएको जस्तो लाग्छ ?
मैले माथि नै भनेँ नि । अंगदान सम्वन्धी चेतनाको अभाव छ । एउटा राजनीतिज्ञ भएको नाताले म कहाँ अंग फेल भएका अझ भनौँ मिर्गौला फेल भएका मान्छेहरु सहयोगका लागि धेरै आउनुहुन्छ । तर यो यस्तो विषय हो कि हामीले चाहेरै मात्रै पनि गर्न सकिदो रहेनछ । त्यसैले यसको दीर्घकालिन उपाय भनेको मस्तिष्क मृत्युसम्वन्धी कानूनको कार्यान्वयन नै हो । त्यसका लागि हामी सबैले आ आफ्नो ढंगले लाग्नुपर्छ । र मलाई विश्वास छ यसमा पनि हामीले छिटै सफलता पाउनेछौँ ।यसलाई चिर्नका लागि र सहज बनाउन मैले मरणोपरान्त अंगदान गर्ने निर्णय गरेको हुँ । 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *