औषधी आयातमा देखिएका समस्याको समाधान कसरी गर्ने ? उपाय खोज्न मियानद्धारा बृहत कार्यशालाको आयोजना

72
Shares

काठमाडौँ, १२ बैशाख । औषधी क्षेत्रका व्यापारी, व्यवसायी, तथा उत्पादकले केही साता यता देखि चलेको इरान युद्धले पारेको असरका बारेमा सरकारी अधिकारीहरुलाई झक्झक्याउन थालेको केही साता बिति सकेको छ ।

उनीहरुले सरकारी अधिकारीहरुलाई भेटेरै युद्धका कारण नेपाल भित्रने औषधी र औषधी उत्पादनमा प्रयोग हुने कच्चा पदार्थको मूल्य बृद्धि, उपलव्धतामा असहजता, आयातको ढुवानीमा चर्को शुल्क जस्ता समस्या बढ्दो क्रममा रहेको बताउँदै आएका छन् । उनीहरुले यो परिस्थितिमा सरकारले गर्न सक्ने उपाय समेत बताएका थिए । तर गुनासोको ठोस सम्वोधन भएको छैन ।

यहि सन्दर्भ पारेर नेपाल औषधी आयातकर्ता संघ (मियान)ले शुक्रबार एक बृहत  कार्यशालाको आयोजना गरेको छ ।

मियान अध्यक्ष पवन आचार्यको अध्यक्षतामा भएको नियामकीय समस्या, चुनौती तथा सम्भावना विषयक कार्यशालामा औषधी आयातकर्ता, विदेशी उत्पादक कम्पनीका देशीय प्रतिनिधि तथा सरोकारवाला पक्षको सहभागिता थियो । कार्यशालामा औषधी आयात क्षेत्र संग सम्वन्धित विभिन्न जटिल तथा समसामयिक विषयहरुमा छलफल भएको थियो ।

मियानद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘सर्टीफिकेट अफ फर्मास्युटिकल प्रडक्ट(सीओपीपी) सम्वन्धी समस्या, हालको म्याक्सिमम रिटेल प्राइज(एमआरपी) सम्वन्धी चुनौतीहरु, विश्वव्यापी मूल्य दवाव तथा त्यसको नेपालमा समायोजन, औषधीमा लाग्ने भन्सार, मूअक सम्वन्धी मुद्धा र त्यसले व्यवसायमा पारेका असरका बारेमा छलफल भयो ।’ साथै गोष्ठीमा सरकारी नीतिहरु र औषधी आपूर्ति र उपलव्धतामा पर्ने असरका विषय समेत जोडदार रुपमा उठेको थियो ।

अध्यक्ष आचार्य भन्छन्, ‘नेपाल औषधीमा आत्मनिर्भर छैन, अहिले हामीले जति नै आदर्शका कुरा गरे पनि जीवन रक्षक सहित धेरै औषधीहरु ठूलो परिमाणमा आयात गर्नु पर्ने बाध्यता छ नै । यो परिस्थितिमा पश्चिम एसिया देशमा भएको युद्धका कारण सिर्जिज पछिल्लो अवस्था, साथै नयाँ सरकार गठन भएपछि औषधी र यसबारेमा व्यक्त गरिएका धारणा र हुनु पर्ने कामका विषयमा छलफल केन्द्रीय थियो ।’

उनले युद्धका कारण औषधीको मूल्यमा परेको असर र ती औषधीको हुनसक्ने सम्भाव्य अभाव तथा समाधानका उपायबारेमा औषधी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनीका नेपाल प्रतिनिधि समेतलाई राखेर छलफल आयोजना गरिएको बताए ।

कार्यक्रममा मियानका बरिष्ठ उपाध्यक्ष पृथ्वीराज वैद्य, उपाध्यक्ष सुमन केयाल, सल्लाकार श्रीविन्दु राजभण्डारी र निवर्तमान अध्यक्ष अञ्जनकुमार पुडासैनी लगायतले साझा लक्ष्य प्राप्तिका लागि एकीकृत र सामूहिक प्रयास अपरिहार्य रहेको धारणा व्यक्त गरे ।

कार्यशालामा संघका महासचिव मधु पौडेलले कार्यक्रमको उदेश्य तथा एजेण्डाबारेमा बताउँदै नियामकीय असमञ्जस्यता समाधान गर्न एकीकृत पहलको आवश्यकता औल्याएका थिए ।

कार्यक्रममा सहभागीहरूले आफ्ना अनुभव, समस्या तथा सुझावहरू प्रस्तुत गर्दै समाधानका उपायहरूमा सक्रिय छलफल गरेका थिए। विदेशी उत्पादक कम्पनीका देश प्रतिनिधिहरूको सहभागिताले अन्तर्राष्ट्रिय अनुभव र दृष्टिकोणसमेत कार्यक्रममा समेटिएको महासचिव पौडेले बताए ।

कार्यक्रमको निष्कर्षस्वरूप, औषधि आयात क्षेत्रमा देखिएका समस्याहरू समाधान गर्न मियानले ले अग्रणी भूमिका खेल्ने र सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी नीतिगत तथा कार्यान्वयन तहका चुनौतीहरूलाई सहज बनाउने सहमति भएको
छ। साथै, मियान सचिवालयलाई सुदृढ बनाउने र कार्यसमितिलाई सहयोग गर्न एक विशेषज्ञ परामर्श टोली गठन गर्ने निर्णय पनि गरिएको छ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *