गजेन्द्रनारायण अस्पतालमा सामाजिक सेवा एकाइ

204
Shares


सप्तरी, २५ असार । लक्षित समूहका बिरामीलाई निःशुल्क वा आंशिक छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सामाजिक सेवा एकाइ स्थापना गरिएको छ ।

सेवा सञ्चालनका विषयमा औपचारिक जानकारी दिदै अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा चुमनलाल दासले आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट असहाय र असमर्थ बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर सो एकाइ स्थापना गरिएको बताए ।

लक्षित समूहका बिरामीको स्वास्थ्य सेवामा समतामूलक पहुँच एवं उपभोग अभिवृद्धि गर्न सरकारले आर्थिक वर्ष ०६९/७० देखि केन्द्रीय, क्षेत्रीय, उपक्षेत्रीय तथा अञ्चल अस्पतालमा यस्तो एकाइ राख्ने निर्णय गरेकामा उक्त अस्पतालमा गत चैत १२ गतेदेखि सेवा शुरु गरिएको उनको भनाइ थियो ।

लक्षित समूहअन्तर्गत गरीब, असहाय, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित, महिला स्वास्थ्य स्वयंसेविका, प्राकृतिक प्रकोपमा परेका, दुर्घटनामा घाइते भएका, शहीद परिवार, कुपोषित बालबालिका, थुनुवा र लोपोन्मुख समुदायले उक्त एकाइमार्फत नियमित तथा विशेषज्ञ सेवा पाउने छन् ।

उपचारमा सहुलियत पाउने लक्षित समूहका बिरामीले नेपाल सरकारले जारी गरेको परिचयपत्र, नागरिकताको प्रमाणपत्र, अन्य कुनै आधिकारिक परिचयपत्र वा स्थानीय तहको सिफारिस लिएर आउनुपर्ने व्यवस्था गरिएको छ । अपाङ्गता भएका र ज्येष्ठ नागरिकले महिला विकास शाखाद्वारा जारी गरिएको परिचयपत्र वा सामाजिक सुरक्षा भत्ता लिएको परिचयपत्र ल्याएमा पनि सेवा पाउन सकिने एकाइका प्रमुख लालकिशोर सिंहले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *