कोशी पठाइएका विभागका महानिर्देशक डा. लोहनीले लिए रमाना

काठमाडौँ, १५ असार । कोशी अञ्चल अस्पताल विराटनगरको मेसु बनाएर पदस्थापन गरिएका स्वास्थ्य सेवा विभागका नि महानिर्देशक डा गुणराज लोहनीले रमाना लिएका छन् । उनी भोलिबाट नै विदामा बस्न सक्ने बताएका छन् ।
समायोजन पछिको पदस्थापनमा अञ्चल अस्पतालको मेसु पठाएपछि असन्तुष्ठ बनेका डा लोहनीले आजै विभागमा बरबुजारथ गरेर रमाना लिएर हिडेका हुन् । उनले मन्त्रालयले आफूलाई भन्दा पनि महानिर्देशक पदको खिल्ली उडाएको प्रतिक्रिया दिए ।
‘म विराटनगर नजाने होइन जान हुन्छ । तर महानिर्देशक बनिसकेको व्यक्तिलाई एउटा अस्पतालको मेसु बनाएर पठाइन्छ । त्यो व्यक्ति होइन महानिर्देशक पदको गरिमा नबुझेको हो । एक हिसावले महानिर्देशक पद लाई नै खिल्ली उडाएको हो,’ उनले भने ।
विराटनगर सरुवा भएको थाह पाए लगत्तै विदामा बस्न निवेदन लिएर मन्त्रालय पुगेका डा लोहनीलाई सचिव रामप्रसाद थपलियाले रमाना लिएपछि मात्रै प्रक्रिया अघि बढने बताएका थिए । त्यस लगत्तै उनी विभाग फर्केर रमाना लिएका हुन् ।
‘म केही दिन विदामा बस्छु । त्यसपछि के गर्ने भन्ने बारेमा सोच्छु,’ उनले भने ।
डा लोहनी विभागको महानिर्देशक हुनु अघि मन्त्रालय चिकित्सा सेवा महाशाखा प्रमुख, सामाजिक स्वास्थ्य सुरक्षा विकास समिति (स्वास्थ्य बीमा)का कार्यकारी निर्देशक बनेका थिए । उनले ती दुबै पदमा समेत उत्कृष्ठ कार्य गरेका थिए ।
सम्पर्क इमेल : [email protected]