भरतपुर अस्पतालमा डेढ महिनामै फेरिए निर्देशक, एक बर्षमा ४ जना
काठमाडौँ, १५ असार । भरतपुर अस्पतालले एक बर्षमा चार जना निर्देशक पाएको छ । पछिल्लो पटक डेढ महिना अघि मात्रै दशौँ तहका डा विश्वबन्धु बगालेले सो अस्पतालको निर्देशकको जिम्मेवारी सम्हालेका थिए ।
समायोजन पछि गत शुक्रबार कर्मचारी पदस्थापन गर्दा मन्त्रालयले वीर अस्पतालमा कार्यरत एघारौँ तहका चिकित्सक डा श्रीराम तिवारीलाई भरतपुरको प्रमुख बनाएर पठाएको हो ।
डा बगाले आउनु अघि सो अस्पतालमा दशौँ तहका डा कृष्णप्रसाद पौडेल निर्देशक भएका थिए । उनी निर्देशकको रुपमा आठ महिना मात्रै टिके । त्यसअघि निर्देशक बनेका थिए डा रविन खड्का । मन्त्रालयले उनलाई त झन् चार महिनामै निर्देशकबाट हटाएको थियो ।
दैनिक १ हजार ६ सय भन्दा बढी विरामी आउने अस्पतालमा निर्देशक छिटो छिटो परिवर्तन हुँदा अस्पतालको गुणस्तरमा समेत प्रभावपर्ने गरेको सरोकारवाला बताउने गरेका छन् ।
डा बगालेले भने समायोजनबाट आफूभन्दा सिनियर व्यक्ति पोष्टिङ भएको भन्दै आफूले सहज रुपमा लिएको बताए ।
सम्पर्क इमेल : [email protected]