‘केयुले चीनको दवावमा आएर १३४ जना भारतीय विद्यार्थीको मेडिकल डिग्री रोक्यो’
काठमाडौँ, १५ असार । भारतीय मिडियाहरुले काठमाडौँ विश्वविद्यालय अन्तरगर्तका विभिन्न मेडिकल कलेजमा चिकित्साशास्त्रको अध्ययन पुरा गरेका १३४ जना भारतीय विद्यार्थीहरुको नियतवस मेडिकल डिग्री रोकेको आरोप लगाएको छ । उसले चिनिया दवावमा भरेर आफ्ना मुलुकका विद्यार्थीलाई नियतवस डिग्री रोकेको आरोप लगाएको हो ।
भारतीय मिडिया दैनिक भास्करको शनिबार प्रिन्ट र अनलाइन सस्करणमा ‘काठमांडू यूनिवर्सिटी ने चीन के दबाव में आकर रोकी १३४ मेडिकल भारतीय छात्रों की डिग्री’ शीर्षकमा मुख्य समाचार बनाएको छ । उसले समाचारमा डोकलाम युद्धमा भारतसंग नराम्ररी चुकेको चीनले पछिल्लो समय नेपालमा भारत विरोधी गतिविधि बढाएको समेत आरोप लगाएको छ ।
उसले केयुमा चीन समर्थक प्राध्यापकहरु भएको र उनीहरुमार्फत चीनले पहिलो निसाना नेपालमा अध्ययनरत भारतीय विद्यार्थीलाई पारेको आरोप लगाएको छ ।
दैनिक भास्करका अनुसार डिग्री रोकिएका विद्यार्थीहरुले भारतीय दुतावास, भारतीय प्रधानमन्त्री, नेपालका प्रधानमन्त्री लगायतका निकायमा उजुुरी दर्ता गराएका छन् ।
अर्को भारतीय अनलाइन पत्रिका आजकी आवाजले ‘नेपाल में चिकित्सक की पढाई कर रहे सैकडों भारतीय छात्रों का भविष्य बर्बाद करने की चीन की साजिस का भंडाफोड’ शीर्षक दिएर मुख्य समाचार बनाएको छ । गत बिहीबार प्रकाशित उक्त समाचारमा चीनले चलाएको भारत विरोधी गतिविधिको भण्डाफोर गरेका विद्यार्थीहरुलाई विश्वविद्यालयका पदाधिकारीले ज्यान नै मार्ने धम्की दिएको समेत उल्लेख गरेको छ ।
के हो त बास्तविकता ?
केयु स्रोतका अनुसार अति कमजोर विद्यार्थीहरुको नतिजा रोकिएको छ ।
‘पास नै नहुने विद्यार्थीको नतिजा त रोक्नु परयो नि । उनीहरुले पास भएको सर्टिफिकेट चाहियो भनेर दवाव दिइरहेका छन् । हामीले बरु सूचनाको हक अन्तरगर्त उत्तर पुस्तिका नै हेर्न सकिन्छ भनेका छौँ । उत्तर पुस्तिका हेर्दा आफूहरु चुक्ने देखेपछि दवाब बढाउन यस्तो हल्ला चलाएको हुनसक्छ,’ केयुका एक अधिकारीले भने ।
दैनिक भास्करका अनुसार नेपालमा केयु अन्तरगर्त सञ्चालित १० वटा मेडिकल कलेजमा ३ हजार ४३५ जना भारतीय विद्यार्थी पढी रहेका छन् ।
सम्पर्क इमेल : [email protected]