कुष्ठरोगका कारण ३० वर्षदेखि जङ्गलमा बसेका सुनारी घरमा फिर्ता

284
Shares


पाल्पा, १३ असार । विगत ३० वर्षदेखि जङ्गलमा बास बस्दै आएका पाल्पाको निस्दी गाउँपालिकाका एक वृद्ध अहिले घर फर्किएका छन् । निस्दी–४ मित्यालका जसवीर सुनारी कुष्ठरोग लागेका कारण गाउँदेखि करीब ७०० मिटर टाढा जङ्गलमा बस्दै आएका थिए ।

जङ्गलमा बास बस्दै करीब ३० वर्ष बिताएका सुनारीको विषयमा विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन तथा प्रसारण भएपछि स्थानीय सरकारको पहलमा उनलाई घर फर्काइएको छ । गाउँपालिकाका जनप्रतिनिधि, राजनीतिक दल, समाजसेवी, स्वास्थ्यकर्मीको टोलीले उनलाई घरमा फर्काएको गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले जानकारी दिए ।

कुष्ठरोग लागेको थाहा पाएपछि विसं २०४० मा गाउँलेले गाउँमा कुष्ठरोग फैलिने डरले गाउँदेखि टाढा भिरालो जग्गा बाँसघारी नजिकै पठाएका थिए । उमेरले करीब ८० वर्ष पुगेका वृद्ध सुनारीले आफू बिरामी भएपछि गाउँलेहरुले आफूलाई हेला गर्ने गरेको स्मरण गरे पनि अहिले घरमा बस्दा रमाइलो लागेको बताए ।

जङ्गलमा बस्दा जङ्गली जनावरको डर लाग्ने बताउँदै अहिले धेरैपछि घरमा आउँदा आफैलाई अचम्म लागेको सुनारीको भनाइ छ । अविवाहित सुनारीले भाइका छोराबुहारीले माया गरेर पहिलेदेखि नै घरमा बोलाउँदा पनि सबैले हेला गर्ने डरले नआएको बताए । सुनारी केही समय अगाडि आफ्ना भाइसँगै बस्न थालेका छन् । यसअघि कहिलेकाहीँ गाउँमा हुने विवाह तथा चाडपर्वमा सहभागी हुने गरे पनि खरको छानो र खरले नै बारेको छाप्रोमा बस्दै आएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *