हावाहुरीबाट प्रभावित घाइतेको उपचार बारा र पर्साका ७ वटा अस्पतालमा
काठमाडौँ, १८ । आइतबार बेलुका आएको विनासकारी हावाहुरीबाट प्रभावित घाइतेको उपचार बारा र पर्साका सात वटा अस्पतालमा भईरहेको छ । ती अस्पतालहरुमा अहिले ३२३ जना घाइतेको उपचार भइरहेको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले बताइन ।
घाइतेहरुको उपचार हुने अस्पतालहरुमा नारायणी उपक्षेत्रीय अस्पताल, नेशनल मेडिकल कलेज बीरगञ्ज, कलैयाँ अस्पताल, तराई अस्पताल बीरगञ्ज, एडभान्स हस्पिटल बीरगञ्ज, गण्डकी अस्पताल बीरगञ्ज र वीरगञ्ज हेल्थकियर युनिट रहेका छन् ।
यी मध्ये सबैभन्दा बढी १९० जना नेशनल मेडिकल कलेज बीरगञ्ज, ९० जना नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको पनि सचिव डा चौधरीले जानकारी गराइन ।
स्वास्थ्य मन्त्रालयका चिकित्सा महाशाखा प्रमुख डा दीपेन्द्ररमण सिंहले अहिलेसम्मे पुष्टी भएको मृतकको संख्या २७ रहे पनि ३६ भन्दा बढीको ज्यान गइसकेको अपुष्ट खबर आएको बताए ।
यसैबीच स्वास्थ्य सचिव डा चौधरीको अध्यक्षतामा स्वास्थ्य आपतकालिन तथा विपत व्यवस्थापन इकाईको बैठक बसेको छ । बैठकले घाइतेको उद्धार तथा उपचारका लागि आवश्यक सबै संयन्त्र परिचालन गर्ने निर्णय गरेको छ ।
उपचारमा सहयोग गर्न जनकपुर र चितवनबाट थप चिकित्सकको टोली ‘मूभ’
यसैबीच डा चौधरीले घाइतेको उपचारका लागि बारा र पर्सामा अहिले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको अभाव भइनसकेको बताइन । तर उनले आवश्यक पर्नसक्ने भन्दै १० १० जनाको टोली जनकपुर र चितवनबाट त्यसतर्फ हिडिसकेको बताइन ।
उनले आवश्यक पर्ने वित्तिकै परिचालन हुने गरी बीर अस्पताल र त्रिवि शिक्षण अस्पतालबाट पनि चिकित्सक टोली तयारी अवस्थामा रहेको बताइन ।
‘हामीले नारायणी उपक्षेत्रिय अस्पतालसंग समन्वय गरेका छौँ । उहाँहरुले अहिले जनशक्ति पर्याप्त रहेको बताउनु भएको छ । उहाँहरुले आवश्यक परयो भन्ने वित्तिकै थप टोली पठाउने छौँ,’ सचिव डा चौधरीले भनिन् ।
केही बेर अघि रगत अभाव भएको भनिएपनि अहिले त्यो समस्या नरहेको डा चौधरीले जानकारी दिइन ।
सम्पर्क इमेल : [email protected]





नेपाली हेल्थ 

