तीन दिनदेखि सुत्केरी हुन नसकेपछि सेनाको हेलिकप्टरबाट उद्धार

216
Shares

रारा, १४ चैत । जिल्लाको पश्चिम खत्याड गाउँपालिकास्थित प्राथामिक स्वास्थ्य केन्द्रमा तीन दिनदेखि सुत्केरी हुन नसकेर छट्पटाइरहेकी एक महिलाको आज उद्धार गरिएको छ ।

खत्याड गाउँपालिका–८ ठामलेख गाउँकी २२ वर्षीया ललिता थापालाई सुत्केरी व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र रातापानीमा चैत १२ गते लगिए पनि सुत्केरी हुन नसकेको पछि नेपाली सेनाको हेलिकप्टरबाट उनलाई उद्धार गरिएको हो ।

थापाको अहिले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको र हेलिकप्टरको खर्च जिल्ला प्रशासन कार्यालय मुगुको सिफारिशमा महिला तथा ज्येष्ठ नागरिक मन्त्रालयले व्यहोर्ने प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए । थापाको यो चौथो गर्भ रहेको र मङ्गलबार स्वास्थ्य केन्द्र ल्याइएकी थापाको पाठेघरको मुख खुले पनि बच्चा जन्मिन भने नसकेको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर मनोजकुमार तिमिल्सिनाले जानकारी दिए ।

थापाको अवस्था जटिल बन्दै गएकाले उनलाई सुविधा सम्पन्न स्थानमा उपचारका लागि हेलिकप्टरबाट सुर्खेत अस्पतालमा लगिएको चिकित्सक तिमिल्सिनाले भने । तीन दिनदेखि सुत्केरी हुन नसकेर अस्पतालमा छट्पटाइरहेकी थापाको शरीरमा रगतको मात्रा कमी रहेको तथा स्वास्थ्य अवस्थासमेत कमजोर रहेकाले तत्काल उद्धार गर्नुपर्ने देखिएकाले उनको उद्धार गरिएको हो ।

स्वास्थ्य केन्द्रमा प्रसूति सेवासम्बन्धी सामान्य सेवाबाहेक जटिल सेवा दिन नसकिने भएकाले पनि जटिल अवस्थाका गर्भवतीलाई अन्यत्र प्रेषण गर्नुको विकल्प नरहेको स्वास्थ्य केन्द्रले जनाएको छ ।

यसअघि पनि चैत ५ गते सोरु गाउँपालिका–५ नेहेर गाउँकी ४५ वर्षीया चन्द्ररुपा शाहीलाई सुत्केरी व्यथा लागेको दुई दिनपछि नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *