गोसाइँकुण्ड मेलाका लागि दुई स्थानमा स्वास्थ्य शिविर

रसुवा, १० साउन । रक्षाबन्धन पर्व अर्थात् जनैपूर्णिमाका अवसरमा पवित्र तीर्थ गोसाइँकुण्ड जाने भक्तजनका लागि हिमालय उद्धार संघले गोसाइँकुण्डमा र नेपाली सेना कालीजंग गणले चोलाङपाटीमा स्वास्थ्य शिविरको व्यवस्था मिलाएका छन् ।

भक्तजनको आवश्यक सुरक्षाको व्यवस्था पनि मिलाइसकिएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईंले जानकारी दिए । भक्तजनलाई आइपर्ने समस्यामा सहयोग गर्न स्थानीय प्रशासन तयार रहेको प्रजिअ चोमेन्द्र न्यौपानेले बताए ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जिव डिएमका अनुसार भोजन, बास, स्वास्थ्योपचार, सुरक्षा र स्वंयसेवकसमेतको सम्पूर्ण तयारी पूरा भएको छ ।

यस वर्ष यही साउन १३ गते नागपञ्चमीका दिन रक्षाबन्धन पर्व परेको छ । भक्तजनको आगमन साउन २३ सम्म नै हुने अपेक्षा गरिएको छ ।
गोसाइँकुण्ड समुद्री सतहदेखि १४ हजार सय फिटको उचाइमा पर्छ । गोसाइँकुण्डमा दशहरा र रक्षाबन्धनका बेला ठूलो मेला लाग्छ ।

सत्ययुगमा समुद्रमन्थनपछि उत्पन्न हलाहल कालकूट विषले संसार दग्ध गर्न लागेकाले शिवले त्यसलाई सेवन गर्दा डाह भई जिउ शान्त बनाउन पत्नी पार्वतीको माइत हिमालयतर्फ लागेको तथा पहिले वेत्रावती र पछि नीलाद्रि पर्वतमा त्रिशूल गाडी पानी पिएका थिए । त्यतिले पनि शान्त नभएपछि उनी त्रिशूल रोपिएको तीनधारेबाट बगेको पानीबाट निर्मित कुण्डमा शयन गरेका थिए ।

कुण्डमा अझै पनि शिव लेटिरहेको अवस्थामा देख्न सकिने विश्वास छ । गोसाइँबाबाको दर्शनबाट मनोकांक्षा पूरा हुने भएकाले जिन्दगीमा एक पटक भए पनि गोसाइँकुण्ड पुग्नैपर्ने बताइन्छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *