च्याउ खाँदै ज्यान गुमाउँदै : पाल्पामा एक बर्षमा ७ जनाको ज्यान गयो
पाल्पा ३१ असार । ‘झाडापखाला, हैजा, आँउ, जन्डिस जस्ता महामारी फैलाउनसक्ने रोगको प्रकोप नदेखिएको धेरै भयो तर हरेक बर्ष जंगली च्याउले भटाभट ज्यान लिन्छ,’ जिल्ला स्वास्थ्य कार्यलयका सूचना अधिकारी माधव ज्ञवालीले भने, ‘अघिल्लो बर्षपनि केहीको ज्यान लिएको थियो । यसबर्ष पनि ७ जनाको ज्यान गईसक्यो । र दुखका साथ भन्नु पर्छ पाल्पामा च्याउ खाने र ज्यान जाने घटना हरेक बर्ष जस्तो चल्दै आएको छ ।’
समसामयिक महामारीजन्य रोग र स्वास्थ्य सेवा विषयक कार्यक्रममा प्रस्तुति दिदै ज्ञवालीले भने, ‘यसबर्ष साविकको दर्छा गाविसमा जंगली च्याउ खाँदा एउटै टोलको १४ जना गम्भीर विरामी भए र ५ जनाको ज्यान गयो । त्यस्तै मित्यालको भिरपानीमा केही दिन अघि त्यसैगरी च्याउ खाँदा ७ जना गम्भीर विरामी भएर दुई जनाको ज्यान गयो ।’
जंगली च्याउले हरेकवर्ष यसैगरी ज्यान लिइरहेको छ तर दुर दराजका गाँउमा खाने चलन अझै रोकिएको छैन । ‘हाम्रा लागि अहिलेको चुनौती यहि हो’ उनले भने ।
उनले चालु आर्थिक बर्षमा साविकको बीरकोट र कचल गाँउमा ठेउलाको प्रकोप बाहेक अरु कुनै सरुवा रोग नदेखिएको बताए । ‘बीरकोटका देखिएको ठेउला नियन्त्रणका लागि ताँहूबाट डाक्टरको टोली परिचालन गरिएको थियो । कचलको भने स्थानीय तहमै नियन्त्रण भयो,’ उनले भने ।
सञ्जीवनी हेल्थ मिडियाले पाल्पामा गरेको समसामयिक महामारीजन्य रोग र स्वास्थ्य सेवा विषयक कार्यक्रममा प्रस्तुति राख्ने क्रममा सूचना अधिकारी समेत रहेका ज्ञवालीले जुनसुकै किसिमको च्याउ नखान अहिले जिल्लाबासीलाई आग्रह गरेको बताए ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा उमाशंकरप्रसाद चौधरीले बर्खाका बेलामा फैलनसक्ने सरुवा रोगको सम्भावनालाई राम्ररी बुझेको भन्दै आवश्यक तयारी अवस्थामा आफूहरु रहेको बताए । उनले पाल्पाको समस्या अरु महामारीको भन्दा पनि जंगली च्याउ नै रहेको दावी गरे ।
‘हामी विभिन्न सञ्चारमाध्यमबाट जनचेतना फैलाईरहेका छौँ तर हरेक बर्ष यस्ता समाचार सुन्नु परेको छ । च्याउ खाने र ज्यान जाने भईरहेको छ ।’
डा चौधरीले जिल्लामा सञ्चारमाध्यमसंग सहकार्य गरेर स्वास्थ्यसम्वन्धी जनचेतनालाई अघि बढाउने कार्य भईरहेको बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



