स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखाको आयोजना प्रकोप व्यवस्थापन संयन्त्र निर्माण
बुटवल, १३ असार । स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखाको आयोजनामा बुटवलमा विपद् तथा प्रकोप व्यवस्थापन समिति गठन भएको छ ।
बाढी, पहिरो, आगजनी, भूकम्प, सुख्खापन एवम् महामारी जस्ता आकस्मिक प्राकृतिक विपद् एवम् प्रकोपको सामूहिक व्यवस्थापन गर्न सो समिति गठन गरिएको हो ।
लुम्बिनी अञ्चल अस्पताल तथा रुपन्देहीमा रहेका जिल्ला अस्पताल, निजी तथा सामुदायिक अस्पताल तथा शिक्षण अस्पतालका प्रमुख एवम् ती अस्पतालमा रहेका विपद् व्यवस्थापन सम्पर्क व्यक्तिको भेलाले गठन गरेको समितिका अध्यक्षमा लुम्बिनी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट तथा सदस्यमा रुपन्देहीका अन्य सबै सरकारी, सामुदायिक तथा निजी अस्पताल तथा जिल्ला रेडक्रस सोसाइटी रुपन्देहीका प्रमुख रहने निर्णय गरिएको छ ।
सरकारले विपद् तथा प्रकोपको स्थायी व्यवस्थापन गर्न नेपालका २५ ठूला अस्पताललाई मुख्य अस्पताल तोकी आफू मातहतमा रहने जिल्ला, निजी तथा सामुदायिक र मेडिकल कलेज शिक्षण अस्पताललाई स्याटलाइट अस्पतालका तोकी स्वास्थ्य सेवा तथा सुविधा, शय्या उपकरण, चिकित्सक, परिचारिका, जनशक्ति तथा एम्बुलेन्सलगायत सबै व्यवस्थापनको लगत राखी स्वास्थ्य मन्त्रालयलाई जानकारी गराउन भनेको छ ।
उक्त भेलामा स्वास्थ्य मन्त्रालय, चिकित्सा महाशाखा कम्युनिटी नर्सिङ प्रशासक कविता अर्याल, नर्सिङ अधिकृत लक्ष्मी मरासिनीलगायत वरिष्ठ पदाधिकारीले मुख्य तथा स्याटलाइट अस्पतालका पदाधिकारीले अभिमुखीकरण तालिम दिई सामूहिक छलफल सञ्चालन गरेका थिए । रुपन्देहीको बुटवल क्षेत्रमा लुम्बिनी अञ्चल अस्पतालसहित १६ अस्पताल क्रियाशील छन् । रासस
सम्पर्क इमेल : nepalihealthnews@gmail.com



नेपाली हेल्थ 
