गर्भवतीको ज्यान जोखिममा

0
Shares

बाजुरा, ११ असार । उत्तरी भेगकोे पाण्डवगुफा गाउँपालिका– ३ की फुलटुक्का ढोली सुत्केरी व्यथाले छटपटिएकी छन् ।

उनलाई व्यथा लागेको दुई दिन बित्दा पनि शिशु पाउन सकेकी छैनन् । साबिकको गोत्री गाविसमा रहेको गोत्री स्वास्थ्य चौकी हुनीमहतिमा शिशु पाउन नसकेपछि उनलाई सुत्केरी गराउनका लागि तीन दिनको पैदल यात्रामा रहेको जिल्ला सदरमुकाम मार्तडीमा पठाइएको स्वास्थ्य चौकीले जनाएको छ ।

फुलटुक्काको पाठेघरमा रहेको जाली फुटिसकेको, मुख खुकुलो हँुदै गएको र पेटको कडापन नरम हँुदै गएकाले सुत्केरी हुन समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख डा रुपचन्द्र विश्वकर्माले जानकारी दिए ।

गोत्री स्वास्थ्य चौकीबाट कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा सुत्केरी गराउनका लागि करिब सात घन्टाको पैदलयात्रा गर्नुपर्ने बाध्यता छ ।

उनको उपचारका लागि स्वास्थ्य मन्त्रालय र क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा खबर गर्दा हेलिकप्टर प्रयोग गर्न बजेट नभएको जनाएकाले फुलटुक्काको ज्यान जोखिममा रहेको बताइएको छ । सुत्केरीको ज्यान बचाउनका लागि मन्त्रालयका सचिवसँग हेलिकप्टर उडानका लागि सम्पर्क भइरहेको डा विश्वकर्माले बताए ।

यसअघि पनि सुत्केरी व्यथाले च्यापेर शिशु पाउन नसकी समयमै उपचार नहुँदा र यातायातको सहज पहँुच नहुनाले साबिकको गोत्री गाविसकी एक महिलाको मृत्यु भएको थियो । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *