‘यौनिकता शिक्षालाई पाठ्यक्रममा समावेश गर्नुपर्छ’

काठमाडौँ, ९असार । बृहत्तर यौनिकता शिक्षालाई औपचारिक र अनौपचारिक शिक्षाको पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता औंल्याइएको छ ।
बिहीबार आयोजित ‘बृहत्तर यौनिकता शिक्षासम्बन्धी पत्रकारसँगको पैरवी कार्यशाला गोष्ठी’का सहभागी वक्ताले सो आवश्यकता औल्याएका हुन् ।
सो अवसरमा शैक्षिक जनशक्ति विकास केन्द्रका निर्देशक यमनारायण घिमिरेले २०६८ सालको जनगणना अनुसार कुल जनसङ्ख्याको २५ प्रतिशत अर्थात् ६४ लाख किशोर किशोरी रहेको र यौनिकता शिक्षा कमीका कारण उनीहरुमध्ये १० देखि २४ वर्ष उमेर समूहका ३५ प्रतिशत किशोरीको सानै उमेरमा विवाह हुने गरेको बताउँदै विवाह भएपछि ती किशोरी विद्यालय छाड्न बाध्य हुने गरेको धारणा व्यक्त गरे ।
स्वास्थ्य मन्त्रालय परिवार स्वास्थ्य महाशाखाका अशेष रेग्मीले किशोर किशोरीमध्ये धेरैले १८ वर्षकै उमेरमा पहिलोपल्ट यौन सम्पर्क गर्ने गरेको बताउँदै “उनीहरुमा कसरी यौनिकता शिक्षा दिन सकिन्छ, यस विषयमा महाशाखाले काम गरिरहेको छ भने।
“त्यस्ता किशोर किशोरीलाई सुरक्षित शारीरिक सम्बन्धलगायत उमेर पुगेपछि मात्र विवाह गर्नेबारे अझै जानकारी दिन आवश्यक छ, रेग्मीले भने, “जुनसुकै उमेर समूहका मानिसलाई यौनिकता शिक्षा दिन आवश्यक छ ।”
सिसो नेपालले आयोजना गरेको उक्त कार्यक्रममा शिक्षा पत्रकार समूहका अध्यक्ष दीपक दाहालले ‘यौनिकता शिक्षामा पत्रकारको’ भूमिका विषयक कार्यपत्र गरे ।
सिसो नेपालका कार्यकारी निर्देशक खुमानन्द सुवेदीले अहिले पनि विद्यालयमा यौन र प्रजनन स्वास्थ्यका विषयमा पढाउने बिषयगत शिक्षकको अभाव रहेको जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनले १० देखि १९ वर्ष उमेर समूहका व्यक्तिलाई किशोर किशोरी भनेका छन् । रासस
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

