स्वास्थ्य चौकीको भवन निर्माण सुरु

0
Shares

म्याग्दी, २७ जेठ । रघुगङ्गा गाउँपालिका– २ भगवतीमा स्वास्थ्य चौकीको भवन निर्माण सुरु भएको छ ।

सहरी आवास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले सुविधा सम्पन्न भवन निर्माण सुरु गरेको हो । महादेव निर्माण सेवाले रु एक करोड ३४ लाखमा भवन निर्माणका लागि ठेक्का लिएको छ ।

दुई तले १२ कोठे सो भवन आगामी मङ्सिरसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको निर्माण व्यवसायी कृष्णकुमार शेरचनले बताए ।

डिपिसी गरेर पहिलो तलाको झ्यालसम्मको पर्खाल निर्माण भइसकेको छ । निर्माण कार्यलाई तीव्र रुपमा अघि बढाइएको छ । सो भवन भूकम्प प्रतिरोधात्मक क्षमताको हो । भवन निर्माणका लागि स्थानीय दुई व्यक्तिले छ वर्षअघि चार रोपनी भन्दा बढी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका थिए ।

भवबहादुर भण्डारीले रु साढे छ लाखमा तीन रोपनी र लोकबहादुर भण्डारीले रु एक लाख भन्दा बढीमा एक रोपनी जग्गा खरिद गरेर स्वास्थ्य चौकीलाई उपलब्ध गराएका हुन्। हाल साविक भगवती गाविसको जीर्ण अवस्थामा रहेको भवनको दुई कोठाबाट सेवा प्रवाह गर्दै आएको चौकीका प्रमुख टीकाबहादुर शाहीले बताए।

नयाँ भवन निर्माण भएपछि सेवा प्रवाह सहज हुने अपेक्षा गरिएको छ । सो स्वास्थ्य चौकीबाट भगवतीका साथै पिप्ले र बेग गाविसका बासिन्दाले सेवा लिँदै आएका छन् । सेवाग्राहीको सङ्ख्या दैनिक बीस जनाको अनुपातमा रहेको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *