‘जाँड, रक्सी नखानुस्’ भन्दै प्रजिअले गराए प्रतिवद्धता

188
Shares

 रोल्पा, २२ वैशाख । आफू, आफ्नो परिवार र देश स्वस्थ राख्नका लागि रोल्पाका नेता, कर्मचारी तथा नागरिक समाजका अगुवाहरुले सामुहिक प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनीहरुले विहीबार देखि चुरोट, विडी खैनी लगायतका सुर्तीजन्य पदार्थ, जाँड रक्सीजस्ता मध्यपानको प्रयोग नगर्ने मात्रै होइन नियमित स्वास्थ्य परीक्षण गर्ने गराउने, नियमित व्यायम गर्ने गराउने तथा स्वस्थ खानेकुरा मात्रै खाने बाचा गरेका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय रोल्पाको आयोजनामा रोल्पाको लिबाङमा ‘मेरो वर्ष २०७४, म स्वस्थ, मेरो देश स्वस्थ’ अभियान शुभारम्भ कार्यक्रमका सहभागीले दायाँ हात छातीमा तथा बायाँ हात शिरमाथि राखेर ‘म रक्सी, चुरोट र सुर्तीजन्य पदार्थ खान्न, म नियमित व्यायाम गर्छु, म स्वस्थ र पोषिलो खाना खान्छु ।म नियमित स्वास्थ्य परीक्षण गराउँछु तथा म मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु’ भनेर प्रतिबद्धता व्यक्त गरेका हुन् । रोल्पाका प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले एकै साथ सबैलाई प्रतिबद्धता व्यक्त गराएका थिए ।

कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख डा भवानीप्रसाद शर्माले सुर्तीजन्य पदार्थको सेवन लत लाग्ने विश्व महामारी तथा घातक पदार्थ भएको बताए । नेपालमा सुर्तीजन्य पदार्थ सेवनका कारण प्रत्येक वर्ष १५ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको भन्दै उनले सुर्तीजन्य पर्दाथको सेवन छाडन आग्रह गरे ।

डा शर्माका अनुसार विश्वमा नसर्ने रोगका जोखिम तत्वका कारण हुने मृत्यु सुर्तीजन्य पदार्थ सेवनको कारणबाट १० प्रतिशत, शारीरिक अभ्यासको कमीको कारणबाट ६ प्रतिशत, मदिराको हानिकारक सेवनको कारणबाट चार प्रतिशत, उच्चरक्तचापको कारणबाट १८ प्रतिशत, रगतमा चिनी बढी (मधुमेह)को कारणबाट ६ प्रतिशत, मोटोपना वा बढी तौलको कारणबाट पाँच प्रतिशत तथा अस्वस्थ खानाको प्रयोगबाट ५३ लाख र रगतमा चिल्लोपना बढी हुँदा ४४ प्रतिशत रहेको छ ।

यसरी सुर्तीजन्य पदार्थ सेवनका कारण मानिसको फोक्सो, मुख, घाँटी, रगत, पेटको क्यान्सर, मुटुसम्बन्धी रोग, दमखोकी, क्षयरोग, निमोनिया र दीर्घ श्वासप्रश्वास अवरोधसम्बन्धी रोग, मधुमेहको सम्भावना बढाउने, पेटमा घाउ हुने, कपाल झर्ने, श्रवणशक्ति कमजोर हुने, आँखाको दृष्टिशक्ति कमजोर हुने, छाला चाउरी पर्ने र नङ पहेँलो हुने, दाँत, गिजा बिग्रने तथा हाड कमजोर हुने गरेको उनले बताए ।

डा शर्माका अनुसार सुर्तीजन्य पदार्थ सेवनले फोक्सोलाई डढाउँछ तथा रोगी बनाउ‘छ । सुर्तीजन्य पदार्थ सेवन रोक्न सकिने मानव मृत्युको कारण भएको उनको भनाइ छ । यो गरिबी, अशक्तता, रोग र मृत्युका लागि मन्द विष भएको छ,’  उनले भने “सुर्तीजन्य पदार्थको सेवन लत लाग्ने विश्व महामारी हो । यसमा पाइने निकोटिनले मानिसको मस्तिष्कमा असर गरी लत बसाउने गर्दछ र तलतल लगाउँछ ।”

नेपालका ४८.१ पुरुष र १४.१ प्रतिशत महिलाले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको उहाँको भनाइ छ । तर पनि धुम्रपानमा चार हजारभन्दा बढी प्रकारका रासायनिक पदार्थ हुन्छन् । यसतर्फ कसैको ध्यान जान सकिरहेको छैन ।

यस्तै, कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय रोल्पाका जनस्वास्थ्य अधिकृत हेमराज पाण्डेले सहभागीलाई सुर्तीजन्य पदार्थ सेवन नगर्ने, मदिरा सेवन नगर्ने, नियमित व्यायाम गर्न, स्वस्थ र पोषिलो खाना खान, नियमित स्वास्थ्य परीक्षण गराउने तथा आफ्नो परिवार र समुदायको स्वास्थ्यका लागि सदैव सजग र प्रतिबद्ध हुने लगायतका सुझाव दिए ।

जुनसुकै मात्रामा रक्सी सेवन गरेपनि यसले स्वास्थ्यलाई कुनै किसिमको फाइदा नगर्ने उनले बताए । रक्सी पिउँदा स्वास्थ्यलाई बेफाइदा त हुन्छ नै, साथै खर्च पनि बढ्ने भएको हुँदा यो कुलतबाट बच्न सबैलाई उनको सुझाव छ ।

कार्यक्रममा प्रजिअ डा भट्टराईले अस्वस्थ जीवन शैलीमा परिवर्तन नहुँदा भयावह अवस्था आउन सक्ने भएको हुँदा आजैदेखि यदी कोही कसैमा माथि उल्लिखित कुराको लत लागेको भए छाड्नुपर्ने सुझाव दिए । उनले अभियानले रातारात परिवर्तन नहुने भएको हुँदा बिस्तारै सबै लाग्नुपर्नेमा जोड दिनुभयो । रोल्पा जिल्लामा भर्खरै मात्र सुरु हुन लागेको यो अभियानको प्रशंसा गर्दै सबै जिल्लावासीको साथ र सहयोग रहेमा यो अभियान सफल पार्न सकिने उनको भनाई थियो ।

कार्यक्रमका एक सहभागीले भने राज्यले एकातिर विभिन्न किसिमका मादकपदार्थ निर्माण गर्नका लागि फ्याक्ट्री खुलिरहने र अर्कोतिर न्यूनीकरणको प्रयास थाल्ने राज्यको दोहोरो नीति भएको टिप्पणी गरे ।

जिल्ला स्वास्थ्य कार्यालय, रोल्पाका खाद्य सुरक्षा फोकल पर्सन देवराज तिमिल्सिना र पोषण फाँट प्रमुख वीरेन्द्र हमालले पनि मन्तव्य व्यक्त गरेका थिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *