रुपन्देहीमा डेङ्गु रोगका बिरामी बढे

0
Shares

रुपन्देही, १८ चैत । लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुु रोगका बिरामी यहाँ गत वर्षभन्दा बढेका छन् ।

गत आव २०७२/७३ मा सातजना डेङ्गु रोगका बिरामी रहेकामा यो आवमा जिल्लामा एकसय ६१ जना रहेको जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले जानकारी दिए।

सबैभन्दा बढी बुटवल उपमहानगरपालिका ९० जना विरामी रहेका छन् । देश तथा विदेशमा महामारीका रुपमा छिमेकी जिल्ला तथा भारतमा पनि यस रोगको महामारी भएका कारणले पनि यो रोगका बिरामी यो वर्ष बढेको अुनमान जिल्ला जनस्वास्थ्य कार्यालय रहेको छ ।

लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्येको मलेरिया रोगका बिरामी भने गत आवको तुलनामा कम रहेका छन् । गत आवमा एकसय नौजना बिरामी रहेकामा यस वर्ष ४५ जना मात्र मलेरिया रोगका बिरामी रहेका छन् ।

लामखुट्टेको टोकाइबाट मलेरिया, डेङ्गुु, हात्तीपाइले र पहेँलो ज्वरोलगायत रोग लाग्दछन् । जिल्लामा हात्तीपाइले र जन्डिस रोगका बिरामी नरहेको पनि जनस्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

डेङ्गु रोग लागेमा डेङ्गु ज्वरोमा अत्यधिक १०३/४ डिग्रीसम्म ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडीपछाडि दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, छालामा रगत जमेका राता खटिरा देखिने गर्दछन् ।

यो रोग एक वर्षभन्दा मुनिका बच्चा र ६० वर्षमाथिका वृद्धवृद्धा, मोटोपन भएका व्यक्ति, गर्भवती महिला, पेप्टिक अल्सर भएका, जन्मजात मुटुका रोगी, मधुमेह, उच्च रक्तचाप, मिर्गौला खराब भएका दीर्घरोगी उच्च जोखिममा पर्दछन् ।

लुम्बिनी अञ्चल अस्पताल बुटवलका फिजिसियन डा नन्दु पाठकले डेङ्गु ज्वरो भएका बिरामीलाई एडिज जातको लामखुट्टेले टोकेपछि उक्त लामखुट्टेले स्वस्थ मानिसलाई टोक्दा उसलाई पनि डेङ्गु सर्ने बताए ।

दिउँसो टोक्ने लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ । त्यसैले पानी जम्न सक्ने भाँडालाई छोपेर राख्नुपर्दछ । थोरै र सफा पानी जम्न सक्ने भाँडामा पानी जम्न दिनु हुँदैन । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *