पाल्पामा फैलिएको ‘चिकेन-पक्स’ दुई दिन पछि नियन्त्रणमा
पाल्पा,१५ चैत । पूर्वी पाल्पाको बीरकोटमा देखिएको चिकेन पक्सको महामारी नियन्त्रणमा आएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय समयमै चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली खटाएपछि महामारीको रुपमा फैलिएको प्रकोप नियन्त्रणमा आएको हो ।
बीरकोट ३ मा पर्ने पोखरीछाप, गोइनडाँडा र मालेखरकमा तीन दिन यता फैलिएको महामारीबाट २६ जना बालबालिकासहित २९ जना विरामी भएका थिए ।
‘टोलभरीकालाई रुघा लाग्ने ज्वरो आउने र शरीरैभरी पानीका फोका निस्कन थालेपछि सन्त्रास फैलिएको थियो । अस्ति दिउसो देखि फाटफुट रुपमा सो ज्वरो आउन थालेको रहेछ । हिजो जिल्लाबाट आएको टोली लिएर हामी पुग्दासम्म २९ जनामा सो संक्रमण देखा परेको पायौँ,’ बीरकोट स्वास्थ्य चौकीका इन्चार्ज सीअहेव मोहन ढकालले बताए ।
गाउँमा चिकेनपक्सको महामारी देखिएपछि जिल्लाले बीरकोटबाट नजिक रहेको ताँहू प्राथमिक स्वास्थ्य केन्द्रबाट डा एकता बरालको नेतृत्वमा दुई जनाको टोली आएको थियो । सोही टोलीमा स्वास्थ्यचौकीका इन्चार्ज ढकाल सहितका थप दुई स्वास्थ्यकर्मी थपिएर उपचारमा खटिएका थिए ।
‘हामीले हिजो र आज गाँउमै गएर उपचार गरयौँ र अहिले त्यो नियन्त्रणमा आएको छ भन्दा हुन्छ,’ ढकालले भने ।
भेरिसेला भाईरसका कारणले सर्ने भएकोले संक्रमित व्यक्तिले हाछिउ गर्दा, थुक्दा, संक्रमित संग संगैसुत्दा समेत एक अर्काका सर्ने गर्छ ।
सम्पर्क इमेल : [email protected]