मानसिक स्वास्थ्यसम्बन्धी रिपोर्टिङबारे कोशिशले गर्यो पत्रकारहरूसँग अन्तरक्रिया

काठमाडौं, ११ मंसिर । मानसिक स्वास्थ्यका विषयमा जिम्मेवार, तथ्यपरक र सम्वेदनशील भएर कसरी पत्रकारिता गर्न सकिएला भन्दै कोशिश नेपालले स्वास्थ्य पत्रकारहरुसंग छलफल कार्यक्रमको आयोजना गरेको छ ।
शुक्रबार आयोजित अन्तरक्रियामा मानसिक स्वास्थ्यका विषयलाई सञ्चारमाध्यममा कसरी प्रभावकारी ढंगले प्रस्तुत गर्ने तथा विद्यमान कानुनमा रहेका विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले कसरी पैरवी गर्न सक्छन् भन्ने विषयमा छलफल गरिएको थियो ।
सो अवसरमा कोशिशका कार्यकारी निर्देशक मातृका देवकोटाले विद्यमान कानूनमा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमाथि विभेद हुने खालका शब्दावली प्रयोग भइरहेको बताए ।
उनले प्रत्येक नागरिकले विना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्न त्यस्ता विभेदकारी शब्दावली हटाउन सञ्चारकर्मीले पैरवी गर्नुपर्ने धारणा राखे ।
कार्यक्रममा नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष सगुन पौडेलले मानसिक स्वास्थ्यका विषयमा समाचार संकलन र सम्पादन गर्दा संवेदनशील हुनुपर्नेमा जोड दिए। नयाँ बन्न लागेको मानसिक स्वास्थ्य नीतिमा पनि पत्रकारहरूले उचित सुझाव दिनुपर्ने उनले बताए।

अन्तरक्रियामा मनोचिकित्सक डा. बासुदेव कार्कीले कानुनमा अझै पनि मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई ‘मगज बिग्रिएको’ जस्ता अपमानजनक शब्द प्रयोग गरेर विभेद गरिएको बताए। यस्ता शब्दावलीको सट्टा सम्मानजनक र मर्यादित शब्द प्रयोग गर्नुपर्ने उनको सुझाव थियो।
अनुसन्धानकर्ता श्रीमन शर्माले मानसिक स्वास्थ्यका मुद्दालाई सार्वजनिक बहसमा ल्याउन पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने बताए। मानसिक स्वास्थ्यका विषयमा नियमित छलफल र अन्तरक्रिया आयोजना गर्नु आवश्यक रहेको उनको भनाइ थियो।
कार्यक्रममा सहभागी पत्रकारहरूले मानसिक स्वास्थ्यसम्बन्धी कानुनमा रहेका विभेदकारी प्रावधान, समाचार सङ्कलनका क्रममा भोग्नुपर्ने चुनौती, रिपोर्टिङका विषयवस्तु तथा समाचारका विश्वसनीय स्रोतका बारेमा छलफल गरेका थिए।

विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 

