वीरको नयाँ र पुरानो भवन जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल बनाईदिंदै काठमाडौँ महानगर
काठमाडौँ, १० मंसिर । काठमाडौँ महानगरपालिकाले वीर अस्पतालको नयाँ भवन र पुरानो भवनलाई जोड्न लिफ्टसहितको अत्याधुनिक आकाशे पुल निर्माण गर्ने भएको छ ।
आज काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उक्त पुलको जगपूजा तथा शिलान्यास गरिन् ।
त्यस अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा विवेक आचार्य, अस्पतालका निर्देशक सहप्राध्यापक डा. विकास नेपाल, वडा नं २७ का अध्यक्ष योगेशकुमार खड्गीले पनि जगपूजामा सहभागी थिए ।
शिलान्यासपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले आकस्मिक स्वास्थ्योपचार गर्नु पर्ने बिरामी बचाउन मिलिसेकेण्डको अवधिलाई पनि अधिकतम उपयोग गर्न सकियोस् भनेर आकस्मिक सेवा भएको भवनलाई सर्जिकल तथा आइसीयू जस्ता सघन उपचार कक्ष भएको भवनसँग जोड्न अत्याधुनिक आकाशे पुल निर्माणमा लगानी गरेको बताईन् ।
उनले भनिन्, ‘हेर्दा यो भौतिक संरचनाका रुपमा मात्र देख्न सकिन्छ । तर, यो भौतिक संरचनाभन्दा भन्दा चिकित्सक र बिरामीको सुरक्षा तथा बिरामीका आफन्तको सहजताका लागि संवेदनशील स्थान हो ।’
वीर अस्पतालका दुईवटा भवनका बिचमा महाबौद्धतर्फ जाने सडक छ । पुरानो भवनमा आकस्मिक कक्ष छ । आकस्मिक कक्षमा आएको बिरामीलाई शल्यक्रिया गराउन तथा सघन उपचार कक्षमा पु¥याउन सडक पार गराएर अर्को भवनमा लैजानु पर्ने अवस्था छ ।
यो छिटो छिटो गर्नु पर्ने काम हो । सडकमा दौडिने सवारी साधन सधैँ हतारमा हुन्छन् । यसबाट जीवन बचाउन गरिने प्रयास नै दुर्घटनामा पर्ने सम्भावना छ । यो जोखिम घटाउनुलाई दायित्व ठानेर हामीले काम गरेका हौँ । डंगोलले अवस्थाको समीक्षा गर्दै भनिन्, ‘गर्नुपर्छ भनेर सबैले महसुस गरेको तर अहिलेसम्म नथालिएको योजना हामीले कार्यान्वनयमा ल्याएका हौँ ।’
त्यस क्रममा धारणा राख्दै उपकुलपति प्राडा आचार्यले, आकाशे पुललाई आफूले भौतिक संरचनाका रुपमा भन्दा पनि मानवीय संवेदनामा आधारित सेवा संरचनाका रुपमा हेरेको बताए ।
अस्पतालका निर्देशक डा. नेपालले अस्पतालको अवस्थाका विषयमा जानकारी गराउँदै निर्माण हुने आकाशे पुलले भवनलाई मात्र होइन, सेवालाई पनि जोड्ने बताए ।
९५० बेडको रिफरल अस्पतालको रुपमा परिचित वीरको नयाँ भवनमा १५ वटा अपरेसन थियटर र ८० वटा आइसीयू छन् ।
अस्पतालका पूर्व निर्देशक वरिष्ठ कलेजो रोग विशेषज्ञ प्राडा दिलिप शर्माले आफ्नो १४ महिने नेतृत्व कालमा भएको यो नै सबैभन्दा महत्वपूर्ण काम भएको उल्लेख गरे ।

कस्तो बन्दैछ पुल ?
आकाशे पुलका लागि ४ करोड ८२ लाख ६६ हजार ८१२ रुपियाँ लागत अनुमान रहेको निर्माण कार्यका लागि सार्वजनिक खरिद प्रक्रियाबाट ४ करोड ७१ लाख ३४ हजार ७२७ रुपियाँमा प्राप्त भएको महानगरले बताएको छ । निर्माणका लागि सुपर सौगात पीसी द्रव्य जेभीलाई २०८३ मंसिर ९ गते कार्यादेश दिएको छ । निर्माण कार्य अवधि २०८४ कार्तिक ३० सम्म हो ।
पुलको दुवै तर्फ राखिने लिफ्ट अस्पताल बेड लिफ्ट गुणस्तरका हुनेछन् । पुलको दुवै तर्फको चढ्ने ओर्लने लिफ्ट तथा भ¥याङ अस्पताल परिसरबाट हुने भएकोले निर्माण पछि दुर्घटनाको जोखिम हुँदैन ।
आकाशे पुल पूर्ण रुपमा फलामको हुनेछ । पहिलो चरणमा फलामको पुलमा लिफ्ट जडान गरिसकेपछि दोस्रो चरणमा सहरको मौलिक स्वरुपमा बाहिरी सजावट गरिने महानगरपालिकाको सार्वजनिक निर्माण विभागका प्रमुख सुरेश राईले जानकारी दिए । विभागका इञ्जिनियर एवं आकाशे पुलका डिजाइनर प्रेमबहादुर श्रेष्ठले भित्री सामग्री अत्याधुनिक र बाहिरी मोहडा मौलिक स्वरुपको हुने बताए ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 

