आँखा स्वास्थ्य सुधार्न डब्लुएचओ र आईएपीबीबीच सहकार्य

0
Shares

काठमाडौं, ११ मंसिर । दक्षिण–पूर्वी एसियामा आँखा स्वास्थ्य सेवा सुदृढ बनाउन तथा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण गर्न विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र अन्धोपन रोकथामका लागि अन्तर्राष्ट्रिय एजेन्सी (आईएपीबी) बीच सहकार्य भएको छ।

डब्लुएचओको दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालय र आईएपीबीले परियोजना सहकार्य सम्झौता आदानप्रदान गर्दै आँखा स्वास्थ्यका क्षेत्रमा संयुक्त प्रयासलाई औपचारिकता दिएका हुन्।

गत ८ अक्टोबर २०२६ मा विश्व दृष्टि दिवसका अवसरमा स्थापित साझेदारीलाई निरन्तरता दिँदै गरिएको यस सहकार्यले दक्षिण–पूर्वी एसियाली मुलुकहरूमा राष्ट्रिय आँखा स्वास्थ्य प्राथमिकता कार्यान्वयन गर्न सहयोग पुर्‍याउने बताइएको छ ।

सहकार्यअन्तर्गत सदस्य राष्ट्रहरूलाई प्राविधिक सहयोग, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्रोतसाधनको आदानप्रदान तथा आँखा स्वास्थ्य सेवाको अनुगमनमा सहयोग गरिने भनिएको छ ।

आँखाको पर्दामा हुने क्षति (डायबेटिक रेटिनोप्याथी) सम्बन्धी दुईवटा प्रकाशन सार्वजनिक

यसै अवसरमा डब्लुएचओले मधुमेहका कारण आँखाको पर्दामा हुने क्षति (डायबेटिक रेटिनोप्याथी) सम्बन्धी दुईवटा प्रकाशन सार्वजनिक गरेको छ।

भारतस्थित एलभी प्रसाद आँखा संस्थानको सहयोगमा तयार गरिएका प्रकाशनमा दक्षिण–पूर्वी एसियामा डायबेटिक रेटिनोप्याथी सेवाको अवस्था र प्राथमिक स्वास्थ्य सेवामार्फत यसको परीक्षणमा पहुँच विस्तार गर्ने उपाय समेटिएका छन्।

सार्वजनिक गरिएका प्रकाशनमा ‘दक्षिण–पूर्वी एसियामा डायबेटिक रेटिनोप्याथी सेवाको अवस्था’ सम्बन्धी प्रतिवेदन र ‘प्राथमिक स्वास्थ्य सेवामार्फत डायबेटिक रेटिनोप्याथी परीक्षणमा पहुँच सुधार गर्ने कार्यान्वयन मार्गदर्शिका’ रहेका छन्।

यस सहकार्यले आँखा रोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार र दक्षिण–पूर्वी एसियामा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रवाहमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *