एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा गाउँपालिकाका अध्यक्ष पक्राउ

काठमाडौँ, ४ मंसिर । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही एम्बुलेन्स चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्।
गाउँपालिकाको एम्बुलेन्स चलाउँदै आएका चंखेली गाउँपालिका–४ का पृथ्वीबहादुर सिंहमाथि कुटपिट गरेको आरोपमा प्रहरीले अध्यक्ष शाहीलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय हुम्लाका सूचना अधिकारी जङ्गबहादुर सिंहका अनुसार बिहीबार अध्यक्ष शाहीले चालक सिंहमाथि कुटपिट गरेका थिए। लामो समयदेखि पारिश्रमिक नपाएपछि रकम माग्न अध्यक्षकहाँ पुगेका सिंहमाथि कुटपिट भएको बताइएको छ।
सिंह विगत ५–६ वर्षदेखि गाउँपालिकाको एम्बुलेन्स चालकका रूपमा कार्यरत थिए।
कुटपिटबाट घाइते भएका सिंहलाई सुरुमा जिल्ला अस्पतालमा उपचारका लागि लगिएको थियो। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 


