नेपालमा विश्व क्रिटिकल केयर नर्सिङ सम्मेलन : ‘१० वर्ष अघिको सपना साकार’

0
Shares

काठमाडौं २८ कात्तिक ।  नेपालमा सघन उपचार सेवाको गुणस्तर र बिरामी सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यसहित २१औँ विश्व क्रिटिकल केयर नर्सिङ सम्मेलन (डब्लूएफसीसीएन) तथा क्रिटिकल केयरसम्बन्धी दुई अन्तर्राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गरिएको छ।

२१औँ विश्व क्रिटिकल केयर नर्सिङ सम्मेलनसँगै आठौँ अन्तर्राष्ट्रिय क्रिटिकल केयर मेडिसिन सम्मेलन र पाँचौँ अन्तर्राष्ट्रिय क्रिटिकल केयर नर्सिङ सम्मेलनको संयुक्त उद्घाटन गरिएको हो।

‘एक टोली, एक लक्ष्य : न्यून तथा मध्यम आय भएका देशमा सघन उपचारको गुणस्तर र सुरक्षा अभिवृद्धि’ भन्ने नारासहित आयोजित सम्मेलनले नेपालसहित विभिन्न देशका क्रिटिकल केयर विज्ञ, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीलाई एउटै मञ्चमा जोडेको छ।

सम्मेलनको वैज्ञानिक समितिकी अध्यक्ष कविता सिटौलाले उद्घाटन सत्रमा सम्बोधन गर्दै एक दशकभन्दा अघिदेखि नेपालका क्रिटिकल केयर क्षेत्रका जनशक्तिलाई एउटै अन्तर्राष्ट्रिय मञ्चमा जोड्ने सपना देखिएको र आज त्यो सपना साकार भएको बताइन्।

ऐतिहासिक सम्मेलनको वैज्ञानिक समितिको अध्यक्षका रूपमा उपस्थित हुन पाउँदा आफू अत्यन्त भावुक र गौरवान्वित भएको उल्लेख गर्दै उनले सम्मेलनमा सहभागी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, कार्यसमिति, आयोजक टोली र प्रतिनिधिहरूप्रति आभार व्यक्त गरिन्।

उनले सघन उपचार सेवाको विकासका लागि अन्तर्राष्ट्रिय अनुभव, ज्ञान र सीप आदानप्रदान आवश्यक रहेको बताउँदै सम्मेलनले नेपालको क्रिटिकल केयर सेवालाई थप गुणस्तरीय बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

सघन उपचार सेवालाई सुरक्षित, गुणस्तरीय र प्रभावकारी बनाउन स्वास्थ्यकर्मीबीचको सहकार्य तथा अनुभव आदानप्रदान आवश्यक रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा आयोजना भएको सम्मेलनले नेपालको स्वास्थ्य जनशक्तिलाई नयाँ ज्ञान, सीप र उपचार पद्धतिबारे जानकारी हासिल गर्ने अवसर प्रदान गर्ने उल्लेख गरिन् ।

सम्मेलनमा सघन उपचार सेवाका आधारभूत शारीरिक प्रक्रियादेखि आधुनिक उपचार पद्धतिसम्मका विषयमा छलफल हुनेछ। विशेषगरी मेकानिकल भेन्टिलेसन, क्रिटिकल केयर युनिट व्यवस्थापन, बिरामी सुरक्षा, स्वास्थ्य सेवाको गुणस्तर, संक्रमण रोकथाम तथा नियन्त्रण, क्रिटिकल केयर नर्सिङका समसामयिक चुनौती र स्वास्थ्य सेवामा कृत्रिम बुद्धिमत्ताको प्रयोगजस्ता विषय प्राथमिकतामा छन्।

आयोजकका अनुसार सम्मेलनले चिकित्सक तथा नर्सिङ जनशक्तिबीचको सहकार्य, अन्तर्राष्ट्रिय अनुभवको आदानप्रदान र सघन उपचार सेवाको क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

सम्मेलनमा १०० बढी विदेशी सहित ७ सय बढीको सहभागिता रहेको आयोजकले जनाएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *