प्रहरी अस्पतालका चिकित्सक तथा नर्सिङ अधिकृतलाई प्राज्ञिक उपाधि प्रदान

काठमाडौँ, २० चैत । नेपाल प्रहरीका प्रमुख प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीले नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राज्ञिक उपाधि हासिल गर्न सफल चिकित्सक तथा नर्सिङ अधिकृतहरूलाई सम्मान गरेका छन्।
नेपाल प्रहरी अस्पतालमा आज आयोजित एक विशेष समारोहबीच प्रहरी अस्पतालमा कार्यरत सहप्राध्यापक तथा सहायक प्राध्यापकको प्राज्ञिक उपाधि हासिल गर्न सफल चिकित्सक एवं नर्सिङ अधिकृतहरूलाई महानिरीक्षक डा. केसीले सम्मान गरेका हुन्।
समारोहमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा। विवेक आचार्य, नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि, चिकित्सक, नर्सिङ अधिकृत तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा महानिरीक्षक डा. केसीले प्राज्ञिक उपाधि हासिल गर्न सफल सबै चिकित्सक तथा नर्सिङ अधिकृतहरूलाई बधाई तथा शुभकामना व्यक्त गरे। उनले हासिल गरेको शैक्षिक तथा प्राज्ञिक उपलब्धिलाई व्यावसायिक दक्षता अभिवृद्धि र स्वास्थ्य सेवा प्रवाहमा थप गुणस्तरीयता ल्याउने अवसरका रूपमा उपयोग गर्न आग्रह गरे।
उनले आगामी दिनमा अझ उच्च व्यावसायिकता, इमानदारी, नवप्रवर्तन र सेवाप्रतिको समर्पणका साथ कार्य गर्न निर्देशन दिँदै स्वास्थ्य सेवाको गुणस्तर र प्रभावकारितामा मापनयोग्य सुधार ल्याउनुपर्नेमा जोड दिए।
नेपाल प्रहरी अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य सेवालाई थप प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउन दक्ष जनशक्तिको विकास तथा प्राज्ञिक क्षमता अभिवृद्धि महत्त्वपूर्ण हुने उनको भनाइ थियो।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 



