भक्तपुर क्यान्सर अस्पताल झण्डै एक महिना देखि कार्यकारी निर्देशक विहीन

काठमाडौँ, १४ कात्तिक । भक्तपुर क्यान्सर अस्पताल झण्डै एक महिना देखि कार्यकारी निर्देशक विहीन बनेको छ । गत १९ असोजमा भक्तपुर क्यान्सर अस्पताल विकास समिति (गठन) (दोस्रो संशोधन) आदेश, २०८३ राजपत्रमा प्रकाशित भएसंगै कार्यकारी निर्देशकको भूमिकामा रहेका डा. उज्वल चालिसे हटेका थिए ।
त्यसपछि मन्त्रालयले नयाँ निर्देशक छिटै पठाउने तयारी गरेको भने पनि आजसम्म सफल हुन सकेको छैन ।
संसोधित गठन आदेशमा २०८२ साल चैत १२ गते अघि नियुक्त भएका कार्यकारी निर्देशक तथा बोर्ड सदस्यहरुको नियुक्ती स्वत खारेज हुने भनिएको छ । सोही अनुसार कार्यकारी निर्देशक डा चालिसे र बोर्ड सदस्यहरु पदमुक्त भएका हुन् । अध्यक्ष भने मन्त्रालयको अतिरिक्त स्वास्थ्य सचिव हुने प्रावधानलाई नचलाइएकोले डा श्रीकृष्ण श्रेष्ठ कायम नै छन् ।
नयाँ व्यवस्थामा कार्यकारी निर्देशकका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको एघारौँ तहका अधिकृतलाई तोक्ने भनेको छ । तर एघारौँ तहको नभए १० औँ तहका अधिकृतलाई कामकाजको रुपमा कार्यकारी निर्देशक बनाउन सक्ने भनिएको छ ।
यस्तै नयाँ गठन आदेशमा कार्यकारी निर्देशकले आफू कार्यरत अस्पताल बाहेक अन्यन्त्रका स्वास्थ्य संस्थामा काम गर्न नपाउने भनेर स्पष्टसंग लेखेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।





नेपाली हेल्थ 




