रोल्पा पुगेर कर्माचार्यले गरे १८८ औँ पटक रक्तदान

0
Shares

रोल्पा १८ असोज । हरेक तीन तीन महिनामा रक्तदान गर्दै आएका नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले शनिबार रोल्पाको लिवाङमा पुगेर आफ्नो १८८औँ पटकको रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार सेवा केन्द्र रोल्पामा उनले रक्तदान गरेका हुन् ।

स्वयंसेवी रक्तदानको सन्देश प्रवाह गर्दै आएका कर्माचार्यले रक्तदानसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले देशका विभिन्न जिल्लामा पुगेर स्वयं रक्तदान गर्दै आएका छन् ।

उनले १८ वर्ष उमेर पूरा भएका र कम्तीमा ४५ किलोग्राम तौल भएका स्वस्थ व्यक्तिलाई नियमित रक्तदानका लागि उत्प्रेरित गर्दै आएका छन् ।

पछिल्लो समय कर्णाली तथा लुम्बिनी प्रदेशका पहाडी तथा दुर्गम जिल्लामा समेत रक्तदान अभियानलाई विस्तार गर्दै आएका कर्माचार्यले यसअघि मुगु, जुम्ला, जाजरकोट, सुर्खेतलगायत जिल्लामा रक्तदान गरिसकेका छन् । त्यसैगरी सिन्धुपाल्चोक, गोरखा, बाजुरा, डडेल्धुरा, नुवाकोट, स्याङ्जा, बाँके र कञ्चनपुरलगायत विभिन्न जिल्लामा पुगेर रक्तदान गरेका छन् ।

रक्तदानलाई सहर तथा रक्तसञ्चार केन्द्रमा मात्र सीमित नराखी ग्रामीण र दुर्गम क्षेत्रसम्म पुर्‍याउने अभियानमा कर्माचार्य लामो समयदेखि सक्रिय छन् ।

रक्त अभावका कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफूले स्वयंसेवी रक्तदाता अभियानलाई निरन्तरता दिँदै आएको कर्माचार्यले बताउँछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *