सौन्दर्य प्रसाधक उत्पादन भन्दै चितवनमा औषधीजन्य उत्पादनको कारोवार भएको दावी

0
Shares

चितवन, ११ असोज ।  कानून त औषधी उत्पादन गर्ने अनुमति लिएको कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउन मिल्दैन । तर एक भारतीय फर्मास्युटिकल कम्पनीले सौन्दर्य प्रसाधन सामग्री बनाउँदै नेपाल निर्यात गर्ने गरेको आरोप लागेको छ ।

अझ नेपाली व्यवसायीहरुले त उक्त उत्पादन सौन्दर्यको नाममा औषधीजन्य सामग्री रहेको दावी समेत गरेका छन् ।

भारतमा औषधी उत्पादनको अनुमति लिएको कम्पनीले नेपालका लागि सौन्दर्य प्रसाधन (कस्मेटिक्स) का नाममा औषधीजन्य सूत्र भएका उत्पादन पठाएको भन्दै व्यवसायीहरूले सम्बन्धित सरकारी निकायमाथि छानबिन र कारबाहीको माग गरेका छन्।

भारतको भगवानपुर, बरवाला, डेराबस्सी क्षेत्रमा रहेको युनाइटेड ल्याबोरेटरीजले सौन्दर्य प्रसाधन उत्पादनका लागि आवश्यक अनुमति नलिई औषधी उत्पादनसम्बन्धी अनुमति प्रयोग गरेर नेपालका लागि उत्पादन तयार पारेको व्यवसायीहरुको आरोप छ ।

एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, भारतमा सौन्दर्य प्रसाधन उत्पादनका लागि वर्ग ३ र औषधी उत्पादनका लागि वर्ग ५ अन्तर्गत अनुमति व्यवस्था रहेको छ। तर, औषधि उत्पादनको अनुमति लिएर तयार गरिएका उत्पादनलाई बाहिरी रूपमा कस्मेटिक्सजस्तै देखिने गरी ‘डर्मासोल’ नाममा नेपाल भित्र्याइएको छ।

चितवनका रविन्द्र बिष्टले उक्त ब्रान्डका उत्पादन नेपाल भित्र्याई देशभर बिक्री वितरण गर्दै आएको व्यवसायीहरुले बताएका छन् ।

यता औषधीजन्य उत्पादनलाई कस्मेटिक्सका रूपमा आयात गरी व्यापार गरिएको यसले सरकारी राजस्व, नियामक व्यवस्था र सर्वसाधारणको स्वास्थ्यमा गम्भीर असर पार्न सक्ने बताइएको छ ।

यसैबीच व्यवसायीहरूले डर्मासोलका उत्पादनको प्रकृति र आयात प्रक्रियाबारे जिल्ला प्रशासन कार्यालय चितवनलाई जानकारी गराएका थिए ।

चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले केही दिन अघि भरतपुरस्थित डर्मासोलको गोदाममा छापा मार्दै अनुसन्धानका लागि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनलाई जिम्मेवारी दिएको थियो तर, छानबिनको जिम्मेवारी पाएको निकायले आवश्यक परीक्षण र अनुसन्धान नगरेको व्यवसायीहरुले दावी गरेका छन् ।

‘खासमा यो औषधी उत्पादन गर्ने मात्रै अनुमति लिएको कम्पनीले सौन्दर्य प्रसाधनको सामग्री उत्पादन गर्न पाउँदैन । तर यो खोलमा सौन्दर्य प्रसाधन सामग्री भनिए पनि औषधीकै फर्मुलेसनमा छ । र औषधीको फर्मुलेसन भएको बस्तु आयात गर्दा औषधी व्यवस्था विभागको अनुमति लिनु पनि पर्छ । त्यो पनि गरिएको छैन,’ स्रोतले भन्यो ।

डर्मासोल आयात गर्ने विष्टसंग सम्पर्क गर्ने प्रयास भने सफल हुन सकेन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *