ट्रमा सेन्टरका स्वास्थ्यकर्मी र कर्मचारीद्धारा प्रधानमन्त्री दैवीप्रकोप कोषमा ४३ लाख ६० हजार ९ सय रूपैयाँ जम्मा

काठमाडौं, ९ असोज। भोटेकोशी त्रिशुली बाढी प्रभावितको राहत उद्धार तथा पुर्नस्थापनाका लागि राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४३ लाख ६० हजार ९ सय रूपैयाँ जम्मा गरेका छन्।
सेन्टरका चिकित्सक, नर्सिङ स्टाफ तथा अन्य प्रशासनिक कर्मचारीहरूको स्वेच्छिक योगदानबाट सङ्कलित उक्त रकम प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको सहयोगार्थ कोषको आधिकारिक खातामा जम्मा गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा. रुद्र मरासिनिले जानकारी दिए ।
उनले प्रथम श्रेणीका अधिकृतहरुले १० दिनको, द्धितिय श्रेणीका अधिकृतबाट ७ दिन र तृतीय श्रेणीका अधिकृतबाट ५ दिनको तलव राहतकोषमा जम्मा गरिएको बताए । यस्तै सो भन्दा तल्लो तहका कर्मचारीहरुले ३ दिनको तलव राहत कोषका लागि योगदान गरेको जानकारी दिए ।
गत १० भदौमा आएको प्रलयकारी बाढीबाट १ हजार ४ सय बढीको ज्यान गएको छ भने ६ हजार ४०० बढी हराई रहेका छन् । बाढीबाट हजारौँ परिवार घरबार विहीन भएका छन् ।
सरकारले बाढी पछिको पुर्नस्थापनाका लागि सहयोग गर्न आव्हान गरेको थियो ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



