विभागलाई पठाएको टाइम फर्मास्युटिकल्सको पत्रमा उल्लेखित शब्दले चिडिए औषधी व्यवसायी
काठमाडौँ, ८ असोज । आफ्नो उत्पादन गुणस्तरहीन छैन भन्दै पत्रमार्फत औषधी व्यवस्था विभागलाई दिएको जवाफमा केही दोष औषधीका थोक तथा खुद्रा विक्रेता तर्फ तेर्स्याए पछि औषधी उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स विवादमा परेको छ ।
टाइम फर्मास्युटिकल्सको पत्र पछि विभागले कुनै औपचारिक धारणा सार्वजनिक गरेको त छैन तर औषधी व्यवसायीले पत्रमा उल्लेखित शब्दको संस्थागत रुपमा भत्र्सना गर्दै फिर्ता लिन माग गरेका छन् ।
नेपाल औषधी व्यवसायी संघ (एनसीडीए)ले आज एक विज्ञप्ती जारी गर्दै विरोध गरेको हो । एनसीडीएका अध्यक्ष प्रकाश खण्डेलवाल र महासचिव श्रीधर खनालले हस्ताक्षर गरेको विज्ञप्तीमा उत्पादक कम्पनीले आफ्नो प्राविधिक कैफियतको दायित्वबाट पन्छिने र दोष औषधीको थोक तथा खुद्रा विक्रेतासँगै अस्पताल तथा स्वास्थ्य संस्था तर्फ तेर्स्याएको आरोप लगाएको छ ।
विभागले गत १ असोजमा औषधी व्यवस्था विभागले बजार अनुगमनका क्रममा ल्याइएको ‘ग्लिपिड- १’ को स्याम्पल पीसको गुणस्तर एकीन गर्दा डिजोलुसन टेष्ट फेल भएको भन्दै बजारबाट फिर्ता (रिकल) गर्न कम्पनीलाई निर्देशन दिएको थियो ।
तर कम्पनीले सो व्याचको औषधी पुनः परीक्षण गर्दा समेत औषधीमा हुनु पर्ने गुणस्तर कायम रहेको भन्दै विभागलाई बजारबाट औषधी फिर्ता गर्न नपर्ने ठोकुवा गरेको थियो । बरु उसले विभागलाई अर्को सूचना जारी गरेर सो व्याचको औषधी गुणस्तरहीन भन्ने शब्द फिर्ता लिन भनेको थियो ।
औषधी व्यवसायीहरुको विरोध केमा ?
टाइम फर्मास्युटिकल्सले बजारबाट रिकल गर्न भनिएको ग्लिपिड १ औषधी आफूले बनाउँदा गुणस्तर कायम रहेको दावी गरिरहँदा नेपालमा औषधीको थोक तथा खुद्रा विक्रेतासंगै अस्पताल तथा स्वास्थ्य संस्थाको भण्डारण व्यवस्थापन अन्तराष्ट्रिय मापदण्ड अनुसार नहुनुले पनि गुणस्तरहीन हुनसक्ने बताएको थियो । एनसीडीएले यसैमा विरोध गरेको हो ।
अध्यक्ष प्रकाश खण्डेलवाल र महासचिव श्रीधर खनालले जारी गरेको विज्ञप्तीमा “बिनाकुनै तथ्यगत आधार थोक तथा खुद्रा व्यवसायीहरूलाई दोषको भागीदार बनाउने यस्तो भ्रामक दाबी पूर्णतः खण्डनयोग्य छ,” संघले भनेको छ।
टाइम फार्मास्युटिकल्सले उक्त भनाइ तत्काल सच्याउँदै औषधी फिर्ता लिनुपर्ने माग पनि संघले गरेको छ।
एनसीडीएले ४ असोजमा विभागलाई लेखिएको पत्रलाई हेर्दा टाइम फर्मास्युटिकल्सले आफ्नो प्राविधिक कैफियतको दायित्वबाट पन्छिने र दोष औषधीको थोक तथा खुद्रा विक्रेतासँगै अस्पताल तथा स्वास्थ्य संस्था तर्फ तेर्स्याएको आरोप लगाएको छ ।
औषधीको गुणस्तरका लागि तीन काम गर्न सुझाव
एनसीडीएले औषधीको गुणस्तर नियन्त्रण, आपूर्ति व्यवस्थामा सुधार तथा व्यवसायीको हकहित संरक्षणका लागि तीनवटा मुख्य माग अघि सारेको छ।
त्यसको पहिलो नम्बरमा विभागको परीक्षण प्रतिवेदन र उत्पादकको दाबीबीच विरोधाभास देखिएको अवस्थामा थोक तथा खुद्रा व्यवसायीलाई बिनाआधार जिम्मेवार देखाउने प्रयास नगरी स्वतन्त्र प्रयोगशालाबाट सूक्ष्म वैज्ञानिक अनुसन्धान गरिनुपर्छ। त्यसबाट गुणस्तरहीनताको वास्तविक कारण—कच्चा पदार्थ, उत्पादन प्रविधि वा प्याकेजिङ—पत्ता लगाई यथाशीघ्र सार्वजनिक गर्नुपर्ने संघको माग छ।
त्यसैगरी, उत्पादनस्थलदेखि अन्तिम उपभोक्तासम्म औषधीको सुरक्षित ढुवानी र भण्डारणको व्यवस्था मिलाई गुणस्तर सुनिश्चित गर्ने प्राथमिक दायित्व उत्पादक कम्पनीकै हुने संघले स्पष्ट पारेको छ।
औषधी फिर्ता सम्बन्धी निर्णय गर्दा नियामक निकायले निष्पक्ष अनुसन्धान, सम्बन्धित पक्षसँग समन्वय तथा पारदर्शी संवादको प्रणाली अवलम्बन गर्नुपर्ने संघको माग छ।
संघले व्यवसायिक दायित्वबाट पन्छिएर एक–अर्कामाथि दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्दै औषधीको गुणस्तरीय आपूर्ति व्यवस्थापनका लागि सबै सरोकारवालाबीच पारदर्शी सहकार्य, समन्वय र जिम्मेवार व्यवहार आवश्यक रहेको जनाएको छ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



