घुस बार्गेनिङको आरोप पछि गण्डकी प्रदेशका स्वास्थ्य सचिव डा. बसौलाको जिम्मेवारी खोसियो
पोखरा, ५ असोज । अस्पतालको बेड संख्या बढाउन अनुमति दिने क्रममा घुस बार्गेनिङ गरेको आरोप लागेपछि गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौलामाथि प्रदेश सरकारले छानबिन अघि बढाएको छ ।
पोखराको पद्म नर्सिङ होमलाई ५० बाट १०० बेडमा स्तरोन्नति गरी अस्पताल सञ्चालनको अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे, उनको सचिवालय र मन्त्रालयका सचिवले रकमको सौदाबाजी गरेको आरोप लागेको थियो ।
पत्रकार अपिल त्रिपाठीले शुक्रबार ‘गण्डकी छड्के’ युट्युबमार्फत उक्त प्रकरणमा ३० लाख रुपैयाँ घुस डिल भएको दाबी सार्वजनिक गरेका थिए । घुस रकम लिएको आरोप भने पाण्डेले अस्वीकार गरेका छन् । रिपोर्टले भने उनीहरुको भूमिका संकास्पद गतिविधि भएको देखाएको छ ।
स्वास्थ्य सचिवबाट बसौलाको जिम्मेवारी खोसियो
यसैबीच गण्डकी प्रदेश सरकारले स्वास्थ्य सचिव डा. युवानिधि बसौलाको जिम्मेवारी खोसेको छ । गत ३ असोजमा बसेको गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले डा बसौलालाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो ।
मुख्य मन्त्री कार्यालयकी सूचना अधिकारी हिमा पोखरेलले ३ असोजको मन्त्रिपरिषद्को बैठकले बसौलालाई स्वास्थ्यको जिम्मेबारीबाट हटाई मुख्य मन्त्री कार्यालयमा तान्ने निर्णय गरेको बताईन । उनले स्वास्थ्यमा सचिव पछिको बरिष्ठतम कर्मचारी सुरज गुरौलाइ निमित्त सचिवको जिम्मेवारी दिएको समेत जानकारी दिईन ।
यस्तै बैठकले स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गर्ने निर्णय गरेको छ । त्यसका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । समितिमा महालेखा र स्वास्थ्य मन्त्रालयका दुई प्रतिनिधिहरु रहेका छन् । समितिलाई १५ दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ र्।
यस्तै, उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा पत्राचार गर्ने निर्णयसमेत गरेको छ ।
घुस प्रकरणमा अनुसन्धान र छानबिन अघि बढेकाले अनियमितताको विषय स्पष्ट नभएसम्म पद्म नर्सिङ होमलाई दिइएको अस्पताल स्तरोन्नतिको अनुमति कार्यान्वयन नगर्ने, नगराउने वा स्थगित गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



