८० वर्ष पुगिसक्दा पनि नियमित डिउटी गर्ने लक्षद्वीपकी नर्स, जो विश्वकै ‘टप-१०’ मा परेकी छन्

नर्स हिन्दुम्बी काउरोम कक्कडा तीन मध्ये बीचकी

लक्षद्वीप, भारत । ८० वर्षीया हिन्दुम्बी काउरोम कक्कडा अझै पनि लक्षद्वीपको सबैभन्दा विकसित टापु कवरत्तीस्थित इन्दिरा गान्धी अस्पतालमा पुग्छिन्, जहाँ उनी मानिसहरूको कठिन दिनलाई सहज बनाउने काममा जुटिरहेकी छन्।

विगत ५३ वर्षदेखि नर्सका रूपमा कार्यरत उनले २०,००० भन्दा बढी शल्यक्रिया र आकस्मिक उपचारमा सहयोग गरिसकेकी छन्। ६० वर्षको उमेरमा एकपटक अवकाश लिए पनि उनी पुनः करार नर्सका रूपमा सेवामा फर्किइन्।

उनी भन्छिन्, “जब तपाईंले पेट्रोम्याक्स बत्तीको उज्यालोमा बच्चा जन्माउन सहयोग गर्नुभएको हुन्छ, डुङ्गामा बिरामी ओसार्नुभएको हुन्छ र किन अझै पनि मानिसहरू अस्पतालसम्म अन्तिम चरणको पहुँचबाट वञ्चित छन् भन्ने थाहा हुन्छ, तब म आफूलाई केवल एउटा जागिर गरिरहेको व्यक्ति ठान्दिनँ। यो त एउटा जीवन बचाउन सहयोग गर्ने कुरा हो।”

उनलाई सन् २०२३ मा भारतका राष्ट्रपतिबाट फ्लोरेन्स नाइटिङ्गेल पुरस्कार प्रदान गरिएको थियो। अहिले उनी आफूले सायद कहिल्यै नसोचेको स्थानमा पुगेकी छन्—सन् २०२६ को एस्टर गार्डियन्स ग्लोबल नर्सिङ अवार्ड का लागि विश्वका २१४ देशबाट मनोनयन भएका १ लाख ३४ हजारभन्दा बढी नर्समध्ये उत्कृष्ट १० को अन्तिम सूचीमा परेकी छन्। २ लाख ५० हजार अमेरिकी डलर राशिको यो पुरस्कार विश्वकै प्रतिष्ठित नर्सिङ सम्मानमध्ये एक मानिन्छ।

जब डुङ्गा नै अपरेसन कक्ष बन्यो

सन् १९७२ मा कक्कडाले सेवा सुरु गर्दा अस्पताल भन्ने जस्तो अवस्था नै थिएन। त्यसबेला एक स्वास्थ्य निरीक्षक र एक सुत्केरी सहयोगी ९मिडवाइफ० मात्रै पूरै टापुको स्वास्थ्य सेवाका जिम्मेवार थिए। अधिकांश बच्चाहरू घरमै जन्मिन्थे र विद्युत् आपूर्ति अनियमित थियो। औषधि केरालाको कोच्चीबाट कहिलेकाहीँ डुङ्गा आएपछि मात्रै पुग्थ्यो।

उनी सम्झिन्छिन्, “यदि कसैलाई तुरुन्त अस्पताल पुर्‍याउनुपर्थ्यो भने, नजिकै कुनै माछा मार्ने व्यक्ति भेटियोस् भनेर प्रार्थना गर्नुपर्थ्यो।”

यदि उनलाई जीवनको एउटा मात्रै सम्झना रोज्न भनियो भने, उनी सीधै अगट्टी टापुको घटना सुनाउँछिन्। त्यहाँ एक महिलामा प्रसूति सम्बन्धी आकस्मिक अवस्था आएको थियो र अत्यधिक रक्तस्राव भइरहेको थियो। त्यतिबेला अगट्टीमा यति गम्भीर अवस्थाको उपचार गर्ने कुनै सुविधा थिएन।

कक्कडा भन्छिन्, “उनको हेमोग्लोबिन निकै कम थियो। उनलाई कवरत्ती अस्पताल पुर्‍याउनु बाहेक अर्को विकल्प थिएन। त्यसका लागि माछा मार्ने डुङ्गा मात्रै उपलब्ध थियो। समुद्रको बीचमै रगत चढाउनुपर्‍यो ताकि उनी जीवितै अस्पताल पुग्न सकून्। यात्रा छ घण्टाको थियो, तर हामी सफल भयौँ।”

पछि उनको सिजेरियन शल्यक्रिया गरियो र आमा तथा बच्चा दुवै सुरक्षित भए। वर्षौँपछि उनी फेरि उनीहरूलाई भेटिन्। उही आमा, उही बच्चा—अब ठूलो भइसकेको—तर फेरि अर्को स्वास्थ्य आपत् परेपछि अस्पताल लैजानुपरेको थियो। त्यसबेला पनि उनी फेरि उनीहरूसँग डुङ्गामा यात्रा गरिन्।

एक वर्ष मनसुनको समयमा उनी रातभर नौसैनिक जहाज चढेर अमिनी टापु पुगिन्, जहाँ एक महिला पूर्ण प्रसव अवस्थासम्म पुगेकी थिइन्। अत्यन्त सीमित उपकरणका बीच उनले र उनको टोलीले त्यहीँ फोर्सेप्स प्रयोग गरेर सफल प्रसूति गराए। त्यसपटक पनि आमा र बच्चा दुवै सुरक्षित रहे।

बत्तीको उज्यालोमा शल्यक्रिया

आज उनी कार्यरत अस्पतालमा पर्याप्त उपकरण र विद्युत् ब्याकअप प्रणाली छन्। तर पहिले अवस्था निकै फरक थियो।

उनी भन्छिन्, “त्यतिबेला बारम्बार विद्युत् कटौती हुन्थ्यो। तर हामी मट्टितेल वा पेट्रोम्याक्स बत्तीको उज्यालोमा शल्यक्रिया र सुत्केरी गराउँथ्यौँ। पुरानो अटोक्लेभ ९उच्च चापयुक्त बाफ प्रयोग गरेर उपकरणलाई जीवाणुरहित बनाउने मेसिन० प्रयोग गर्थ्यौँ। औषधि कहिल्यै समयमै आइपुग्दैनथ्यो। यदि बिरामीलाई टापुबाहिर लैजानुपर्थ्यो र नौसैनिक जहाज उपलब्ध हुँदैनथ्यो भने, हामी माछा मार्ने व्यक्तिलाई अनुरोध गरेर यात्रा गराउँथ्यौँ।”

वैज्ञानिक स्वास्थ्य चेतनाको अभावका कारण मानिसहरूलाई अस्पतालसम्म ल्याउनु पनि चुनौतीपूर्ण थियो। कक्कडा घर–घर पुगेर आफ्नो रजिस्टरमा घरको संख्या टिप्थिन् र गर्भावस्था हेरचाह, सरसफाइ, खोप तथा सुरक्षित प्रसूतिका लागि अस्पताल नै उत्तम स्थान भएकोबारे जानकारी दिन्थिन्।

उनी भन्छिन्, “अन्ततः अस्पताल जान मानिसहरूलाई सबैभन्दा धेरै विश्वास दिलाएको कुरा भने अस्पताल पुग्न नपाएर आमाहरूको मृत्यु थियो। जब कोही अस्पताल आउन सक्दैनथे, म र मेडिकल अफिसर उनीहरूलाई भेट्न जान्थ्यौँ। त्यसपछि स्थानीयहरूले पनि यो सन्देश फैलाउन सहयोग गरे। अहिले गर्भवती महिलाहरू सुत्केरीका लागि अस्पतालमै आउन चाहन्छन् र मलाई नै सम्पर्क गर्छन्।”

उनको यही जनचेतनामूलक अभियानले समुदायलाई हैजा प्रकोप, सन् २००४ को सुनामी र कोभिड–१९ महामारीका समयमा पनि ठूलो सहयोग पुर्‍यायो।

उनका आफ्नै चुनौतीहरू

त्यतिबेला प्रसूति बिदा केवल ४५ दिनको मात्रै थियो। त्यसपछि कक्कडा आफ्ना नवजात शिशुलाई परिवारका अन्य सदस्यको जिम्मा लगाएर पुनः काममा फर्किन्थिन्।

उनी भन्छिन्, “कहिलेकाहीँ मलाई अर्को टापुमा खटाइन्थ्यो र त्यहाँका सबै बिरामीको उपचार सकिएपछि मात्रै फर्कन पाइन्थ्यो। त्यसैले म कहिले घर फर्किनेछु भन्ने पनि पहिलेबाट थाहा हुँदैनथ्यो।”

प्रारम्भिक वर्षहरूमा सम्पूर्ण टापु समूहका लागि स्वास्थ्यकर्मी अत्यन्त कम थिए। त्यसैले उनी लामो समयसम्म कुनै वास्तविक विश्रामबिना काम गर्थिन्।

“कहिलेकाहीँ अस्पतालको ड्युटी सकिनेबित्तिकै सीधै खोप अभियानमा जानुपर्थ्यो, वा घर–घर बिरामी भेट्न निस्किनुपर्थ्यो,” उनी थप्छिन्।

नर्स बन्ने अवसर पनि उनलाई सहजै प्राप्त भएको थिएन। त्यतिबेला महिलाको स्वास्थ्यबारे खुलेर कुरा गर्ने चलन थिएन। तर कक्कडाका बुवाले उनलाई साथ दिए। उनले कक्षा १० उत्तीर्ण गरेपछि नर्सिङ तालिमका लागि कोझिकोड गइन्।

उनका बुवा एक गाँधीवादी थिए। उनी महात्मा गाँधीसँगै दांडी यात्रामा सहभागी भएका थिए र उनले कक्कडामा समुदायको सेवाप्रतिको भावना विकास गराएका थिए। साउदी अरेबियामा तीन वर्ष कार्य गरेपछि पनि उनी पुनः कवरत्ती फर्किइन्, किनकि उनलाई लाग्थ्यो कि टापुवासीहरूलाई उनको सबैभन्दा बढी आवश्यकता त्यहीँ थियो।

  • एजेन्सीको सहयोगमा
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *