औषधी व्यवस्था विभागले सञ्चालनमा ल्यायो ‘एकल विन्दु सेवा प्रणाली’

काठमाडौँ, २ जेठ । औषधी व्यवस्था विभागले नागरिक सहायता तथा सहजीकरण केन्द्र अन्तर्गत एकल विन्दु सेवा प्रणाली सञ्चालनमा ल्याएको छ ।
सेवा प्रवाहलाई थप सहज, पारदर्शी, छिटो छरितो तथा नागरिक मैत्री बनाउने उदेश्यले सो सेवा प्रणाली सञ्चालनमा ल्याइएको विभागले जनाएको छ । यस प्रणाली सञ्चालनमा आएपछि अब सेवाग्राहीले एकै स्थानबाट आवश्यक सेवाहरु प्राप्त गर्न सक्नेछन् ।
शुक्रबारबाट सञ्चालनमा आएको यो प्रणालीबाट सेवाप्रवाहमा प्रभावकारिता अभिवृद्धि गर्नुका साथै नागरिकको समय, श्रम र प्रक्रियागत जटिलता न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको विभागले जनाएको छ ।
विभागकी निमित्त महानिर्देशक शिवानी खड्गीले एकल विन्दु सेवा प्रणालीबाट विभागबाट हुने सबै कामको जानकारी र समन्वय हुने बताईन् ।
‘अहिलेसम्म विभागबाट हुने जतिपनि कामका लागि अहिलेसम्म शाखा महाशाखा कोठा कोठामा गएर बुझ्ने, अपडेट लिने, लाइन लाग्नु पर्ने अवस्था थियो । यसले सेवाग्राहीलाई पनि झन्झट र कर्मचारीहरुलाई पनि डिस्टर्व हुने गर्दथ्यो । अब भने यो एकल विन्दु सेवा प्रणालीमा गएर सबै कामका लागि प्रक्रिया अघि बढाउने, अपडेट लिने गर्न सकियो, सेवाग्राहीहरुले महाशाखा प्रमुखहरुको कोठा धाउनु पर्दैन । एकल विन्दु सेवा प्रणालीमा कार्यरत कर्मचारीले नै सबै कामको समन्वय गर्दछ,’ निमित्त महानिर्देशक खड्गीले भनिन् ।

हुन पनि विभागमा प्रडक्ट लाइसेन्स देखि अनुज्ञा पत्र, औषधी पसल दर्ता देखि अनुगमनपछिको स्पष्टीकरण दिनसम्म विभिन्न कर्मचारीको कोठामा धाउनु पर्ने थियो ।
विभागको नयाँ नेतृत्वले सुरु गरेको यो कमदलाई सेवाग्राहीले पनि सहज ढंगबाट छिटो छरितो सेवा दिनका लागि चालिएको सकारात्मक कदमको रुपमा लिएका छन् ।
सम्पर्क इमेल : [email protected]



नेपाली हेल्थ 

