५० शैय्या आईसीयू थप्ने योजनामा राष्ट्रिय ट्रमा सेन्टर

सीटी एमआरआई मेसिन थप्ने देखि पेपरलेससम्मका योजनामा काम हुँदै
208
Shares

काठमाडौँ, १० बैशाख । दुर्घटना तथा गम्भीर चोट पटक लागेर उपचारका लागि हरेक दिन आउने १०० बढी घाइते मात्रै होइन, दैनिक २५ देखि ३० वटा सम्म हुने मेजर अप्रेसनमा पनि आईसीयू शैय्या उत्तिकै जरुरी छ । तर, राष्ट्रिय ट्रमा सेन्टर अहिले जम्मा १८ वटा आईसीयू बेड उपलव्ध छ । गम्भीर घाइते तथा बिरामीको चापलाई जेनतेन व्यावस्थापन गर्दै आएको सेन्टरले अब भने आईसीयू विस्तारको योजना अघि सारेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरीटेन्डेन्ट डा रुद्रप्रसाद मरासिनीले आउँदो आर्थिक वर्षमा अस्पतालले थप ५० बेड आईसीयू तथा एचडीयू थप्ने योजना अघि बढाएको बताए ।

‘हाम्रोमा हेड इन्जुरीका घाइते तथा बिरामीहरु धेरै आउनु हुन्छ । कतिपय अवस्थामा आईसीयू अभावकै कारणले उपचारका लागि समस्या परेको छ । त्यसैले अव हामीले आईसीयू एचडीयू थप्ने योजना बनाएका हौँ,’ उनले भने ।

त्यसका लागि अस्पतालले अहिले प्रशासनिक कामकाज हुँदै आएको तेस्रो तल्लाको ठाउँ प्रयोगमा ल्याउने जनाएको छ ।

‘प्रमुख मेडिकल सुपरीटेन्डेन्ट सहित प्रशासनिक कार्यकक्ष हामीले सातौँ तल्लामा सार्ने र अहिले प्रशासन रहेको तेस्रो तल्लामा ५० बेडको आईसीयू राख्ने योजना छ,’  डा. मरासिनीले भने ।

उनले अहिलेको १८ मा ५० बेड आईसीयू थपिदा बिरामीलाई ठूलो राहत हुने बताए । ‘अहिले त आईसीयू नभएकै कारण कतिपय विरामीहरुलाई अन्यत्र पठाउनु पर्ने अवस्था पनि छ । यसलाई हामी दुर गर्न चाहन्छौँ,’ उनले भने ।

सिटिस्क्यान तथा एमआरआई मेसिन थपिदै

अस्पतालले आईसीयू विस्तारको काम मात्रै होइन, त्यो भन्दा अघि नै नयाँ सिटिस्क्यान तथा एमआरआई मेसिनको बन्दोबस्त मिलाउँदै छ । त्यसो त अहिले अस्पतालमा सिटिस्क्यान नभएको होइन । १६ स्लाइस सीसीको सिटिस्क्यान चालु अवस्थामा नै छ । तर बिरामीको चाप बढेपछि थप साधन स्रोतको व्यवस्थापन गर्न लागिएको हो ।

‘अब हामीले १२८ स्लाइस सीसीको सिटिस्क्यान मेसिन थप्न लागेका हौँ । यस्तै थ्री टेस्ला एमआरआई मेसिन पनि संग संगै जडान गर्दैछौँ । चालु आर्थिक वर्षको अन्त्यसम्ममा खरीद प्रक्रिया टुंगिने र नयाँ आर्थिक वर्षको एक दुई महिना भित्र जडान गर्ने योजनाका साथ काम अघि बढेको छ,’ डा. मरासिनीले भने ।

‘अहिले दैनिक ५० देखि १०० बढी सिटी गर्नु पर्ने अवस्था छ । सीटी बढी लोड हुँदा छिटो बिग्रने समस्या भइरहेको छ । थप मेसिनले लोड व्यवस्थापनमा पनि सहज हुनेछ,’ डा. मरासिनीले भने । उनले सिटीका लागि साढे ६ करोड र एआरआईका लागि २० करोड बजेट विनियोजन गरिएको बताए ।

पेपर लेस सिस्टममा अघि बढ्दै
प्रमेसु डा. मरासिनीले राष्ट्रिय ट्रमा सेन्टर सुधारका लागि भएका प्रयासहरु सुनाउने क्रममा अस्पताललाई पेपरलेस सिस्टममा लैजान लागेको समेत सुनाए । यो काम सुरु भईसकेको र चालु आर्थिक वर्ष भित्रै सम्पन्न गर्ने योजना रहेको सुनाए ।

पेपरलेस सिस्टम पछिल्लो पटक अर्को ठूलो सरकारी अस्पताल पाटन अस्पतालमा लागू भईसकेको छ ।

डा मरासिनीले ट्रमा सेन्टरमा लागू गर्ने भनिएको मोडल पनि पाटनको जस्तै रहेको बताए ।

‘हामीले त्यहाँको मोडल हेरयौँ । त्यहि मोडल ठिक लाग्यो । र अहिले त्यहि टिमले काम सुरु गरेको छ,’ उनले भने ।

उनले यसका लागि सर्भरको व्याकप चाहिने र त्यसका लागि टेण्डर गर्नु पर्ने भएको बताए ।

‘विभिन्न सफ्टवेर इन्ट्रिग्रेसन गर्नुपर्छ । त्यसका लागि सर्भरको व्याकप हुनु पर्छ । सो खरीदका लागि हामी प्रक्रिया अघि बढाउँदै छौँ । चालु आर्थिक वर्षमा तयार भएर साउन देखि पेपरलेस सिस्टमलाई लागू गर्ने भन्ने हाम्रो योजना हो । पेपरलेसमा गएपछि टिकट देखि डाक्टरको प्रेस्किप्सन सम्मका सबै काम आन्तरिक नेटवर्क (अनलाइन)बाट हुन्छ, उनले भने ।

आर्थिक र जनशक्ति व्यवस्थापनको पाटोमा खासै समस्या छैन
२०० बेडको सरकारी अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालित छ । नियमित बाहेक इएचएस सेवा पनि जारी छ । अन्य ठूला अस्पतालहरुमा आर्थिक तथा जनशक्ति व्यवस्थापनमा समस्या भएको सुनिने गरे पनि ट्रमा सेन्टरमा भने सो समस्या खासै देखिदैन ।

‘२४० जति सरकारी दरबन्दीका छन् । झण्डै त्यति नै संख्यामा समितिबाट नियुक्त भएका छन् । अरु आउट सोर्सिङको रुपमा थप १५०को हाराहारीमा छन् । प्राविधिक तथा अप्राविधिक समूहका गरी सो अस्पतालमा करीव साढे ६ देखि ७०० सम्म कर्मचारी छन् । हामी यस मानेमा सवल भन्नुपर्छ, धेरै आर्थिक कठिनाई भोग्नु परेको छैन । सरकारीका लागि सरकारले तलव दिएकै छ, अरु अस्पतालको आम्दानीबाट पनि चलेकै छ । बीमाको भुक्तानी समयमा नहुँदा केही समस्या त पर्ने नै भयो तर हामीले म्यानेज गरेका छौँ । हामी सस्टेन छौँ ,’ उनले ढुक्कले भने ।

दुई दिन विदाले शल्यक्रियाको पालो मिलाउन मुस्किल

ट्रमामा दैनिक ६०० देखि ७०० बढी बिरामी ओपिडीमा आउँछन् । १०० बढी बिरामी इमरजेन्सीबाट उपचारका लागि आउँछन् । सामान्य चोटपटक, फ्याक्चर, व्याडेज तथा प्लस्टर गरेर पठाउनेको त हिसाव नै हुन्न ।

आकस्मिक सेवाका लागि एउटा अप्रेसन थिएटर (ओटी) चौविसै घण्टा चल्छ । अरु छ वटा अप्रेसन थिएटर (ओटी) रुटिन अप्रेसनका लागि हो । साप्ताहिक विदाको दिन बाहेक अन्य दिन विभिन्न युनिटले पालो गरेर त्यसको प्रयोग गर्दै आउछन् ।

‘हामीकहाँ प्रत्येक ओटीमा दैनिक ५ देखि ६ वटा मेजर अप्रेसन हुन्छ । त्यो भनेको दिनमा २५ देखि ३० वटा ठूला अप्रेसन हुन्छन् । अघिल्लो साता देखि सरकारले शनिबार र आइतबार विदा दिने निर्णय कार्यान्वयनमा ल्याएको छ । यसले मेजर शल्यक्रियाको पालो मिलाउन हम्मे हम्मे परेको छ । हामीकहाँ महिनौँ अघि पालो लिएर बसेका बिरामी छन् । आइतबारको विदा हुँदा ति बिरामीको पालो फेरी सर्ने भयो । आइतबारका लागि तय गरिएका २५-३० जना बिरामीलाई कसरी व्यवस्थापन गर्ने भन्नेमा हामीले विभिन्न उपायहरु लगाउँदै छौँ । यसको पुरा म्यानेज गरेर नियमित अवस्थामा फर्किनका लागि दुई तीन महिना लाग्न सक्छ,’ डा. मरासिनीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *