पश्चिम एसिया युद्धको असर औषधी क्षेत्रमा :

‘सरकारले बास्तविकता बुझेर अब औषधीको मूल्य समायोजन गर्नै पर्छ’

'२४ घण्टाको लागि भन्दै रेट पठाउन थाल्यो, यसले समस्या पारेको छ'
284
Shares

पश्चिम एसियामा (ईरान, इजरायल र अमेरिका) युद्ध चलेको छ तर त्यसको असर नेपालमा प्रत्यक्ष परेको छ । एक महिना अघि देखिको यो युद्धको अहिले औषधी क्षेत्रमा समेत देखा परेको छ । यसै सन्दर्भमा नेपाली हेल्थले यतिकेम डिस्ट्रीव्युटर्स प्रालिका कार्यकारी अध्यक्ष एवं स्वदेशी औषधी उद्योग सिम्का लेबोरेटोरिज प्रालिका अध्यक्ष एवं प्रवन्ध निर्देशक प्रभुराज वैद्यसंग कुराकानी गरेको छ । हेरौँ कुराकानीको सार संक्षेप :

पश्चिम एसियाली देशमा चलिरहेको युद्धको असर नेपालको औषधी क्षेत्रमा पनि देखिन थालेको चर्चा चलेको छ, के यो कुरा साँचो हो ?

हो, असर देखिएको छ । अहिले औषधी बनाउनका लागि आयात हुने कच्चा पदार्थमा यसको असर बढी देखिएको छ । पश्चिम एशियाको युद्धले एकातर्फ पेट्रोकेमिकलको सप्लाइमा अफ्टेरो भएको छ, अर्कोतर्फ पेट्रोलियमा पदार्थको मूल्य बृद्धि भइरहेको छ । औषधीकै लागि चाहिने पेट्रोकेमिकलको भाउ बढेको छ । पेट्रोलियम पदार्थको मूल्य बृद्धिपछि ढुवानी शुल्कमा भारी बृद्धि भएको छ । कच्चा पदार्थको भाउ बढेको छ । समग्रतामा युद्धको असर औषधी क्षेत्रमा नराम्रोसंग परेको छ ।

नेपालका लागि चाहिने औषधीका कच्चा पदार्थ त भारत र चीनबाट आउने होईन र ? मध्यपूर्वको तनावले यता कसरी असर पर्छ ?

असर गर्छ नि ।  बढी जसो भारत र चीनबाट नै आउँछ तर एउटै कुराले मात्रै त औषधी बन्ने होइन । विभिन्न चीजहरु अन्यत्रबाट ल्याउनु पर्छ । जस्तै प्लाष्टिकको बोटल बनाउने कच्चा पदार्थको भाउ निकै बढेको छ । पेट्रोकेमिकलबाट त्यसको कच्चा पदार्थ बन्ने हो । अर्को कुरा युद्ध बढ्दै जाँदा ती हामीलाई सप्लाई गर्ने राष्ट्रहरुमा पनि अन्योल बढेको छ । चीनले आन्तरिक रुपमा चाहिने कच्चा पदार्थ पहिले राख अनि मात्रै विदेश निर्यात गर भनिसक्यो । भारतले पनि रेट बढाएरै पठाएको छ । हिजो आज उनीहरुले कच्चा पदार्थको भाउ तोक्दा २४ घण्टाको लागि भनेर भन्न थालेका छन् । यो त निकै अनिश्चितता भयो नि । अहिले औषधी कम्पनीहरुले कच्चा पदार्थहरुको भाउ ३०-४० प्रतिशत देखि ३०० प्रतिशतसम्म बढेको बताएका छन् । हामीले नै पनि त्यो अनुभव गरेका छौँ ।

नेपालमा औषधीका लागि चाहिने कच्चा पदार्थसंगै ठूलो परिमाणमा तयारी औषधी पनि बाहिरबाट आयात हुन्छ ? कच्चा पदार्थको मूल्य बढ्दा आयात गरिने तयारी औषधीको मूल्य बढेको छ कि छैन ?

हामीकहाँ आउने धेरै जसो औषधी भारतमा बनेका हुन् । ‘फिनिस प्रडक्ट’मा अहिलेसम्म भाउ बढेको अवस्था छैन । तर केही दिनमा बढ्ने निश्चित छ । यसैले हामीलाई पनि काम गर्न गाह्रो भइरहेको छ ।

काम गर्न समस्या मतलव…. तपाईँहरुलाई काम गर्न के मा अफ्टेरो भयो ?

अस्पताल तथा स्वास्थ्य संस्थाहरुले धमाधम टेण्डर आव्हान गरेका छन् । तर हामीले अप्लाइ गर्न सकिरहेका छैनौँ । टेण्डर भरौँ उताबाट ल्याउनु पर्ने कच्चा पदार्थको मूल्य २४ घण्टाको लागि भन्दै पठाउँछ ।

टेण्डरमा सामान्य त एक वर्षको भ्यालिडिटी हुन्छ । अझ कतै कतै अर्को टेण्डर नभएसम्मका लागि त्यो भ्यालिडिटी हुन्छ । भोली रेट अनुसार दिन सकिएन भने जरिवाना लगाउने प्रावधान छ । युद्धका कारण भन्दै रेट अस्थिर आउँदा भोली ह्वात्तै भाउ बढ्यो वा हामीले सप्लाइ गर्न सकिएन भने तर राम्रो भएन । त्यसैले पनि पर्ख र हेरको अवस्थामा पुगेका छौँ । अर्को कुरा युद्ध कति लम्बिन्छ भन्ने पनि थाहा भएन । हामी अहिले दुई चार दिन हेर्ने, यस विषयमा सरकारी निकायसंग छलफल तथा समन्वय गर्ने चरणमै छौँ ।

यसबीचमा नेपालमा नयाँ सरकार बनेको छ, यो परिस्थितिलाई सरकारी तबरबाट के गर्न सकिएला ? नयाँ सरकारलाई तपाईँको सुझाव के छ ?

खासमा आशा लाग्दो कुरा के छ भने,  अहिलेको सरकारमा प्रधानमन्त्री देखि मन्त्रिपरिषद्का सबै सदस्यहरु शिक्षित, पढे/लेखेको हुनुहुन्छ । युवा हुनुहुन्छ ।

अघिल्ला सरकारमा भएका कमि कमजोरीहलाई राम्रोसंग बुझेको व्यक्तिहरु हुनुहन्छ । अर्थात कुरा बुझ्ने व्यक्ति आउनु भएको छ ।

तर परिस्थिति यस्तो आईलाग्यो । पश्चिम एसियामा भएको युद्धबाट सिर्जित समस्या अब यो नयाँ सरकारले जसरी पनि व्यवस्थापन गर्नु पर्नेछ ।

म के भन्छु भने,

अब  सरकारले हामीजस्तो सरोकारवालासंग छलफल र समन्वय गरेर अघि बढोस । नेपालको औषधीका क्षेत्रमा निजी क्षेत्रको योगदान र अनुभवलाई प्रयोगमा ल्याओस । सहकार्य गरोस ।

अहिले सरकारले सबैभन्दा बढी समन्वय भारत र चीनसंग गर्नुपर्ने कुरा त छँदैछ । संगसंगै सरकारले आन्तरिक रुपमा पनि केही सुधार गर्नुपर्छ ।

खास कुरा, औषधीको मूल्यसंग सम्वन्धित छ ।

अव यर्थातको धरातलमा सरकार, दलका नेता, उद्योगी व्यवसायी तथा आम नागरिक उभिनै पर्छ । औषधीमा विदेशबाट मूल्य बढेर आईरहेको बेलामा हामीले पनि मूल्य बढाउनु पर्छ ।

सरकारी स्वामित्वको नेपाल आयल निगमले भारतबाट तेल ल्याउँछ, तर उता भाउ बढ्ने वित्तिकै यता भाउ बढाई हाल्छ । तर औषधीमा त्यस्तो छैन । हामीले धेरै वर्ष देखि राजपत्रमा प्रकाशित गरेको औषधीको मूल्य समय सापेक्ष रुपमा संसोधन वा समायोजन गर्न सकेका छैनौँ । यसलाई तत्काल संसोधन गर्न नै पर्छ ।

यसैगरी कच्चा पदार्थ सहज आपूर्तिका लागि पनि सरकारले समन्वय गरिदिनु पर्छ । नेपाली कम्पनीहरुले पनि मिलेर एकमुष्ट रुपमा ठूलो परिमाणमा कच्चा पदार्थ आयात गर्ने हो कि त्यसतर्फ पनि सोच्नु पर्छ । छुट्टा छुट्टै लिदा उनीहरुले सही दाममा उपलव्ध गराउन पनि झन्झट मान्ने अवस्था छ । किनभने उनीहरुले टनको हिसावले बेच्न खोच्छन् हामीले ग्राम र किलो ग्राममा अडर गर्न खोच्छौँ त्यसले पनि समस्या पारेको छ ।

त्यसैले फेरी पनि भन्छु, यो विशेष परिस्थितिमा सरकार निजी क्षेत्र सबै मिलेर समस्या पार लगाउनु पर्छ ।

औषधीको मूल्य बढाउने कुराले नयाँ सरकारको पनि त आलोचना हुने भो नि ?
कुरा के भने, हामी ‘वाह-वाही’मा रमाउने कि बास्तविकता बुझ्ने भन्ने हो । नागरिकलाई औषधीको अभाव भयो भन्ने अवस्था बनाउन पनि त भएन । खाएका औषधीमा गुणस्तरताको प्रश्न उठन पनि त भएन ।

त्यसैले मैले फेरी भने उताबाट सबै बढेर आएको अवस्था छ भने हामीले यहाँ विरोध र आलोचना हुन्छ भनेर रोकेर राख्नु राम्रो होईन ।

तेलको मूल्य कतिदिन भित्र कसरी बढी रहेको छ । सरकारी निकायले नै बढाई रहेको छ । त्यसैले मूल्यको कुरा उताबाट जे जस्तो अवस्थामा आउँछ त्यहि रेसियोमा संसोधन हुनुपर्छ भन्ने हो ।

बरु सरकारले व्यापारीहरुलाई जिम्मेवार बनाउनु परयो । बढेकै मूल्यमा बेच तर नाफा कम गर भन्न सक्नु परयो । नाफालाई एउटा मार्जिन त राख्नु पर्छ । सरकारले यसो भन्दा उद्योगी व्यापारीहरुले पनि सहयोग गर्न सक्छन् ।

अर्को कुरा हामीकहाँ धेरै जसो औषधी भारतबाट नै आउने हो । उताको भाउ बढ्दा यहाँ पुरानै भाउमा बेच्न त गाह्रो हुन्छ ।

नेपाली उद्योगको अर्को समस्या के भने हामीले भारतसंग प्रतिस्पर्धा गर्नुपर्छ । भारतले ठूलो परिमाणमा उत्पादन गर्दा मूल्य कम हुन्छ तर हाम्रो उत्पादन परिमाण उनीहरुको जति नहुने भएकोले खर्च बढी हुन्छ । भारतको रेटमा दिदा नेपाली उद्योगलाई धेरै घाटा पनि छ । तर पनि बाध्यता छ । सरकारले यस विषयमा पनि राम्ररी बिचार गर्नुपर्छ ।

अझ अर्को कुरा भारत सरकारले परिस्थिति हेरेर आफ्ना कम्पनीहरुलाई सुविधा दिने गरेको छ । उसले कोभिडको समयमा भारतीय कम्पनीलाई ‘आवश्यकता अनुसार मूल्य बढाउ तर उपलव्ध गराउ’ भनेको थियो । संगसंगै धेरै कुरामा सहुलियत छुटको व्यवस्था पनि मिलाएको थियो । तर नेपालमा अहिलेसम्म त्यस्तो सुविधा पाएको बिरलै छ । नयाँ सरकारले यस तर्फ पनि ध्यान दिन पाए राम्रो हुन्थ्यो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *