औषधीमा आत्मनिर्भरता: बन्देजको जोखिम कि प्रोत्साहनको बाटो ?

नेपालको स्वास्थ्य क्षेत्रको मेरुदण्ड मानिने औषधी व्यवस्थापन अहिले एउटा बैचारिक दोबाटोमा उभिएको छ। एकातिर स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाउने राष्ट्रिय आकांक्षा छ भने अर्कोतिर दशकौंदेखि जीवनरक्षक औषधीको आपूर्ति धान्दै आएका आयातकर्ताहरूको योगदान र बिरामीको छनोटको अधिकार।
यी दुई पक्षबीचको द्वन्द्व समाधान गरी एउटा सन्तुलित मार्ग पहिल्याउनु आजको आवश्यकता हो।
इतिहासको बिरासत : संकटका सारथी आयातकर्ता
कुनै पनि राष्ट्रको विकासक्रम बुझ्न इतिहासको कदर अनिवार्य हुन्छ। नेपालमा जब एउटा सामान्य सिटामोल समेत उत्पादन हुँदैनथ्यो, तब विषम् परिस्थितिमा पनि गाउँ गाउँसम्म औषधी पुर्याउने काम आयातकर्ताहरूले नै गरेका थिए। नाकाबन्दी होस्, विनाशकारी भूकम्प वा कोभिड–१९ जस्ता महामारी, अन्तर्राष्ट्रिय बजारबाट औषधी ल्याएर नेपालीको ज्यान बचाउन उनीहरूले खेलेको भूमिका केवल व्यावसायिक मात्र थिएन, त्यो एउटा मानवीय सेवा पनि थियो। पितापुर्खाले जग बसालेको यो कर्मलाई अवमूल्यन गरेर आधुनिक औषधीको जग बलियो हुन सक्दैन।
तितो यथार्थ : आयातको अपरिहार्यता
आज पनि हामी क्यान्सर, मिर्गौला, र मुटु रोगजस्ता जटिल समस्याका लागि जीवनरक्षक औषधीमा पूर्णतः आयातमा निर्भर छौँ। विश्वमा औषधीको क्षेत्रमा भइरहेको नवीन अनुसन्धान र जटिल प्रविधिलाई नेपालले तुरुन्तै आत्मसात गर्न सक्ने अवस्था छैन।
यस्तो अवस्थामा आयातमा बन्देज लगाउने कुरा गर्दा, त्यसले बिरामीमाथि निम्त्याउने मानसिक र आर्थिक भारको गम्भीरतालाई भुल्नु हुँदैन। औषधी आयात नहुनुको अर्थ बिरामीले उपचार नै नपाउने जोखिम निम्त्याउनु हो, जुन कुनै पनि सभ्य समाजका लागि स्वीकार्य हुन सक्दैन।
आत्मनिर्भरता, एकाधिकारको डर र गुणस्तरको चुनौती
आयातको योगदानलाई स्वीकार्दै गर्दा स्वदेशी उद्योगको संरक्षणमा कुनै सम्झौता हुनु हुँदैन। स्वदेशी उद्योगले केवल औषधी उत्पादन मात्र गर्दैन, यसले रोजगारी सिर्जना गर्छ, डलर बाहिरिनबाट जोगाउँछ र राष्ट्रिय अर्थतन्त्रलाई सबल बनाउँछ।
कोभिड–१९ ले हामीलाई सिकाएको सबैभन्दा ठूलो पाठ नै ‘आपूर्ति व्यवस्थामा आत्मनिर्भरता’ हो। स्थानीय उत्पादन हुँदा ढुवानी खर्च कम हुने र बजार मूल्य नियन्त्रणमा सहयोग पुग्ने हुँदा बिरामीले सुलभ मूल्यमा औषधी पाउन सक्छन्। त्यसैले, स्वदेशी लगानी मैत्री नीति राज्यको प्राथमिकता हुनुपर्छ।
बन्देज कि प्रोत्साहन ?
अहिलेको मुख्य प्रश्न हो- के आयातमा बन्देज लगाउनु नै समाधान हो ? गम्भीर भएर सोचौँ. बन्देजले ‘मोनोपोली’ (एकाधिकार) निम्त्याउँछ। जहाँ प्रतिस्पर्धा हुँदैन, त्यहाँ गुणस्तरमा लापरबाही र मूल्यमा अस्वाभाविक वृद्धि हुने डर रहन्छ। यसले बिरामीको ‘उत्कृष्ट औषधी रोज्न पाउने अधिकार’ खोस्छ।
आयातलाई ‘शत्रु’ देख्ने संकुचित सोच त्यागेर आयातलाई प्रतिस्थापन गर्ने गरी स्वदेशी उद्योगलाई ‘प्रोत्साहन’ गर्ने नीति लिनु बुद्धिमानी हुन्छ। सरकारले स्वदेशी उद्योगलाई कर छुट, सहुलियत ऋण र अनुसन्धानमा सहयोग गर्ने हो भने नेपाली उत्पादन स्वतः विदेशी औषधीभन्दा गुणस्तरीय र सस्तो हुन सक्छन्। बजारले सधैं उत्कृष्टलाई नै रोज्छ।
जेनेरिकबाट अनुसन्धान (R&D) तिरको यात्रा
नेपाली औषधी उद्योगहरूले अब केवल ‘नेपाली उत्पादन’ भन्दै भावनात्मक कार्ड खेल्ने समय घर्किसकेको छ। अब समयसापेक्ष रूपमा WHO-GMP (विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास) को कठोर पालना गर्दै चिकित्सक र बिरामीको विश्वास जित्नुपर्छ।
नेपाली उद्योगहरू अहिलेसम्म प्रायः ‘जेनेरिक’ (अरूले बनाएका फर्मुला) औषधीमा मात्र सीमित हुनु बिडम्बना हो। हाम्रा उत्पादकहरूले आयातलाई ‘ब्यारियर’ देख्नुभन्दा नेपालमै अत्याधुनिक ‘अनुसन्धान र विकास केन्द्र’ (R&D Center) खोल्न किन ढिलाइ गरिरहेका छन् ? सरकारलाई यसका लागि झकझक्याउन र नयाँ प्रविधिमा लगानी बढाउन अब ढिला गर्नुहुँदैन।
आयात र उत्पादनस् शत्रुता होइन, सह-अस्तित्वको खोजी:
आयातकर्ता र उत्पादक एक-अर्काका बाधक होइनन्, परिपूरक हुन्। जुन औषधी नेपालमा उच्च गुणस्तरमा पर्याप्त उत्पादन हुन्छ, त्यसलाई प्राथमिकता दिने र जुन प्रविधि हामीसँग छैन, त्यसका लागि आयातकर्ताको उपस्थिति सम्मानजनक रूपमा स्वीकार्ने संस्कृतिको विकास गरिनुपर्छ।
राष्ट्रवादको नाममा गुणस्तरहीन स्वदेशी औषधि वा व्यापारको नाममा अनावश्यक महँगो विदेशी औषधी – यी दुवै जनताका लागि घातक हुन्। यो कसैलाई पनि स्विकार्य हुनु हुदैन्। हाम्रो अन्तिम लक्ष्य ‘बिरामीको हित’ नै हुनुपर्छ।
र अन्त्यमा,
१. आयातमा पूर्ण बन्देज होइन, स्वदेशी उत्पादनलाई यति बलियो बनाऔँ कि आयात स्वतः विस्थापित होस् ।
२. स्थानीय उत्पादकले आयातकर्तालाई ‘दुश्मन’ होइन, ‘प्रतिस्पर्धी’ मानेर आफ्नो गुणस्तरमा सुधार गरुन् ।
३. सरकारले केवल आयात रोक्ने होइन, नेपाली औषधिलाई विश्व बजारमा निर्यात गर्न सक्ने वातावरण निर्माण गरोस्।
सुखी जनता र समृद्ध नेपालको सपना तब मात्र साकार हुन्छ, जब देशमा औषधिको गुणस्तर र उपलब्धताबीच उचित सन्तुलन कायम हुन्छ।
जय स्वास्थ्य, जय स्वदेशी लगानी।
#श्रेष्ठ नेपाल औषधी व्यवसायी संघ, जिल्ला शाखा काठमाडौँका महासचिव हुन् ।
सम्पर्क इमेल : [email protected]





