उत्कृष्टतामा बर्दिया अस्पतालको ‘ह्याट्रिक’

60
Shares

दाङ २१ कात्तिक । प्रदेश मातहतमा रहेका लुम्बिनी प्रदेशका १४ वटा अस्पतालहरु मध्ये बर्दिया अस्पताल यसपटक पनि प्रथम भएको छ । यसपटक  ७०.२४ अंक ल्याएर बर्दिया अस्पताल  लुम्बिनी प्रदेश प्रथम  भएको हो ।

यो संगै लगातार तीन पटक प्रथम भएर बर्दिया अस्पतालले उत्कृष्ठतामा ह्याट्रिक हानेको छ । यसअघि सो अस्पताल आर्थिक वर्ष ०७९/८०, ०८०/८१ पनि प्रथम भएको थियो ।

प्रदेश स्वास्थ्य निर्देशनालयको आयोजनामा गत मंगलबार देखि बिहीबार (हिजो)सम्म चलेको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठीमा गत आर्थिक वर्षमा स्वास्थ्य कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेका स्वास्थ्य संस्थाहरुको मूल्यांकन नतिजा समेत सार्वजनिक गरिएको थियो । सो क्रममा बर्दियाले उत्कृष्ठतामा ह्याट्रिक हानेको हो ।

त्यसो त केही वर्ष अघिसम्म बर्दिया अस्पतालको पहिचान सरकारको प्रतिनिधित्व गर्ने तर जिल्लाको एउटा सामान्य अस्पतालको रुपमा थियो । तर पछिल्लो छ वर्षमा उसले एक पटक दोस्रो बाहेक सधै प्रथम बनेको छ ।

प्रदेश मातहतमा रहेका लुम्बिनी प्रदेशका १४ वटा अस्पताल छन् । ती मध्ये बर्दिया अस्पताल आर्थिक वर्ष ०७६/७७, ०७७/७८ र ०७९/८०, ०८० /८१ र ०८१/८२ प्रथम भयो । आर्थिक वर्ष ०७८र७९ मा मात्रै दोस्रो स्थान भएको हो ।

‘त्यति बेला तथ्यांकमा प्रस्तुतिमा हाम्रो केही त्रुटि भएर थोरै नम्बरले हामी दोस्रो भएका हौँ ,’ अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डा. सुवास पाण्डेयले भने ।

‘स्वास्थ्य कार्यक्रमहरुका मुख्य-मुख्य सूचकका आधारमा अस्पतालहरुको मूल्यांकन हुन्छ, उपलव्ध गराएका सेवा देखि बेरुजु सून्य, ओपिडी देखि आईपीडी सर्भिस, तथ्यांक राख्ने देखि समयमै तथ्यांकको रिपोर्टिङ गर्ने लगायतका सूचकहरु हुन्छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह, इमरजेन्सी, बहिरंग सेवा, फार्मेसी, प्रयोगशाला, अस्पताल प्रशासन, सुशासन, जवाफदेहिता लगायतका सूचांकका आधारहरुमा बर्दिया अस्पताल सधै नै अगाडी छ । ती सबै कामको मूल्यांकन गरेर नै हामी प्रथम भएका हौँ,’ डा. पाण्डेयले भने ।

उनी अगाडी थप्छन्, ‘हाम्रो विशेषता पछिल्ला वर्षहरुमा बेरुजु सून्य छ, आर्थिक पारदर्शिता कायम गरिएको छ, र सबैभन्दा महत्वपूर्ण कुरा टीमवर्क छ । ५० शय्याको अस्पतालमा प्रयाप्त दरबन्दी त छैन तर जति छौँ उत्साहका साथ काम गर्ने गरेका छौँ । हामीले अहिले ५० शय्याको स्वीकृति भए पनि ७५ शय्याको सेवा दिईरहेका छौँ।,’

उनले अस्पताल सफल बनाउनका लागि नेतृत्वलाई केही समय दिनु पर्ने बताउँछन् । उनी भन्छन्, ‘सरकारी अस्पतालहरु राम्ररी पिकअप लिन नसक्नुका कारण छिटो छिटो प्रमुखहरु परिवर्तन गर्दा पनि हो जस्तो लाग्छ । यहाँ म अलि लामो समय देखि रहेको छु र मैले मजाले योजना बनाएर एउटा लक्ष्यका साथ अस्पताललाई नेतृत्व गर्दै आएको छु ।’

डा. पाण्डेयले अस्पतालका प्रमुख भइसकेपछि म्यानेजरको भूमिकामा पनि उत्तिकै दख्खल हुनु पर्ने भन्दै ऐन नीतिका कुराहरुमा पनि उत्तिकै जानकार रहँदा काम गर्न सजिलो र सफल भईने बताए ।

बुधबार सम्पन्न भएको बार्षिक समीक्षा कार्यक्रममा बर्दिया अस्पताल प्रथम हुँदा ६९.७४ प्रतिशत अंकका साथ अर्घाखाँची अस्पताल दोस्रो र ६८.७४ अंकका साथ लुम्विनी प्रादेशिक अस्पताल तेस्रो भएको छ ।

यस्तै आयुर्वेद स्वास्थ्य संस्था तर्फ अर्घाखाँची आयुर्वेद स्वास्थ केन्द्र पहिलो, लुम्बिनी आयुर्वेद चिकित्सालय दोस्रो र पाल्पा आयुर्वेद स्वास्थ केन्द्र तेस्रो भएको छ । स्वास्थ कार्यलय तर्फ स्वास्थ्य कार्यालय पाल्पा पहिलो, रोल्पा स्वास्थ्य कार्यालय दोस्रो र रुकुमपूर्व स्वास्थ्य कार्यालय तेस्रो भएको छ । पुरस्कृत स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य मन्त्री खेमबहादुर सारुले प्रमाणपत्र सहित सम्मान गरेका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *