नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघमा

यस्तो छ निर्वाचन सम्बन्धि तालीका

काठमाडौँ, १७ कात्तिक । नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको निर्वाचन आगामी माघ महिनामा हुने भएको छ ।

आगामी तीन वर्षका लागि संघको नेतृत्व गर्ने नयाँ कार्यसमिति छनौटका लागि गठित केन्द्रीय निर्वाचन समितिले उपत्यका बाहिर र काठमाडौँ उपत्यकामा गरी दुई चरणमा निर्वाचन गर्ने गरी तालीका सार्वजनिक गरेको छ ।

सो तालीका अनुसार संघको निर्वाचन काठमाडौँ उपत्यका बाहिर आगामी २ र ३ माघको दिन विहान ९ देखि अपरान्ह ४ बजेसम्म संघका शाखा कार्यालयमा हुने छ । यस्तै काठमाडौँ उपत्यका भित्र भने १५, १६ र १७ माघको दिन विहान ९ बजे देखि अपरान्ह ५ बजेसम्म संघको केन्द्रीय कार्यालय काठमाडौँमा हुनेछ ।

केन्द्रीय कार्यकारिणी समितिका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष सहित सात प्रदेशबाट प्रादेशिक संयोजक समेत रहने गरी ७ जना उपाध्यक्ष चुनिने छन् । यस्तै महासचिव, कोषाध्यक्ष, सहसचिव र सह कोषाध्यक्षमा एक एक जना चुनिने छन् । यस्तै सदस्यहरुमा भने छ जना रहने छन् ।

यस्तै नेपाल चिकित्सक संघ परिषदका लागि ६० जना सदस्य छनौट हुनेछ ।

निर्वाचन कार्यक्रम अन्तर्गत मंसिर २५ गते मतदाताको प्रथम नामावली प्रकाशन, २७ मंसिरमा नामावलीमाथि दावी विरोध, २८ मंसिरमा दावि विरोधको छानविन र २९ मंसिरमा अन्तिम नामावली प्रकाशन हुने बताइएको छ ।

यस्तै १ पुसमा उम्मेद्धारको मनोनयन पत्र वितरण, २ पुसमा उम्मेद्धारको मनोनयन पत्र दर्ता गर्ने तालीका रहेको छ ।

संघको निर्वाचनमा यसपटक उम्मेद्धारको मनोनयन दर्ता शुल्क अध्यक्ष पदका लागि १० हजार रुपैयाँ तोकिएको छ । यस्तै बरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव कोषाध्यक्ष, सह सचिव र सह कोषाध्यक्ष पदका लागि ८ हजार रुपैयाँ, सदस्यका लागि ५ हजार रुपैयाँ र परिषद् सदस्यका लागि १ हजार रुपैयाँ मनोनयन दर्ता शुल्क तोकिएको छ ।

यसपटकको निर्वाचन गराउन चार सदस्यीय निर्वाचन समिति बनाइएको छ । जसमा डा प्रणयरत्न शाक्य प्रमुख निर्वाचन अधिकृत तोकिएका छन् । यस्तै डा विवेक राजभण्डारी, डा अतीत पौडेल र अधिवक्ता बाबुराम अर्याललाई निर्वाचन अधिकृत तोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *