सिंहदरबार परिसर भित्र ‘प्रिफ्याव’ भवन बनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मंसिरमा सर्ने तयारी

काठमाडौँ, १२ कात्तिक । सिंहदरबार परिसर भित्र जाने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रयास अन्तत: सफल भएको छ ।
त्यसका लागि सिंहदरबार परिसर भित्र रहेको नेपाली सेनाको नर्सिङ दल गणको नाममा भएको खाली जग्गामा अहिले धमाधम फ्रिफ्याव भवन बनिरहेको छ ।
सेनाको सो गण प्रधानमन्त्री कायालय नजिक सरे पछि खाली रहेको त्यस क्षेत्रको जग्गा र भवनहरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि छुट्याइएको हो ।
‘पहिले नर्सिङ दल गण रहेको क्षेत्रको पूर्वी भागमा खाली रहेको जग्गामा छ वटा ठूला प्रिफ्याव ब्लक बन्दैछ । त्यसका लागि विश्व स्वास्थ्य संगठनले आर्थिक तथा प्राविधिक सहयोग गर्दैछ । त्यसबाहेक केही कोठाहरु नर्सिङ दल गणको पुराना कोठाहरु पनि प्रयोग हुन्छ सक्छ,’ मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले भने ।
जेनजी आन्दोलनले विध्वंशात्मक रुप लिएको दिन २४ भदौमा रामशाहपथस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मुल भवन आगलागीमा परेपछि अहिले पछाडीपट्टी रहेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ भवनमा शरण लिएर बसेको छ ।
मन्त्रालयका अधिकारीहरुले तत्कालका लागि काम चलाउन शरणमा परेको भन्दै जति सके छिटो स्वास्थ्य मन्त्रालय सिंहदरबार भित्र सार्ने बताउँदै आएका थिए ।
प्रवक्ता डा. बुढाथोकीले कात्तिक महिना भर रामशाहपथबाट मन्त्रालयको सेवा चले पनि मंसिर महिना देखि सेवा सिंहदरबारबाट दिने गरी तयारी भएको बताए ।’अबको दुई तीन हप्तामा भवनहरु कम्प्लिट गर्ने र मंसिरमा सिंहदरबारबाट सेवा दिने तयारी गरेका छौँ,’ उनले भने ।
डब्लुएचओको सहयोगमा बनिरहेको प्रिफ्याव ब्लकहरु पछि पनि एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुने खालको रहेको समेत उनले बताए ।
सम्पर्क इमेल : [email protected]




नेपाली हेल्थ 

