नर्सका मागका विषयमा स्वास्थ्य मन्त्रालयमा बार्ता : असुरक्षा भएको भन्दै कलेज तथा अस्पताल सञ्चालकहरु निस्किए

452
Shares

काठमाडौँ, २ कात्तिक ।  नर्सका मागका विषयमा निर्णय लिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको बैठकबाट निजी मेकिडल तथा डेन्टल कलेजका प्रतिनिधि र निजी अस्पताल सञ्चालकहरुका प्रतिनिधिहरु बाहिरिएका छन् । उनीहरुले आफूहरुलाई अवहेलना तथा असुरक्षा महसुस भएपछि बैठक छाडेको बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव डा. श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बैठक चलिरहेका बेला बाहिरबाट केही नर्सहरुले निजी अस्पताल तथा मेडिकल कलेज सञ्चालक लक्षित प्लेकार्ड प्रर्दशन गरेपछि बैठक भाडिएको हो । बाहिरबाट प्लेकार्ड देखाउन थालेपछि निजी मेडिकल कलेज तथा अस्पताल सञ्चालकहरु बैठकस्थलबाट बाहिरिएका हुन् ।

‘बैठक बोलाइयो तर बैठक कक्षबाहिर हामी बिरुद्ध चर्का नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरियो । यसले हामीलाई अपहेलित त गरियो नै असुरक्षित भएको समेत महसुस भयो, बैठकस्थलको ढोकामै उनीहरु यसरी प्रस्तुत हुन्छन्, अनि उनीहरुको प्लेकार्ड हेरेर कसरी छलफलको बातावरण बन्छ, यसले त असुरक्षित पनि महसुस भयो त्यसैले हामी निस्कियौँ,’ निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष समेत रहेका बिराट मेडिकल कलेजका सञ्चालक डा ज्ञानेन्द्रमान सिंह कार्कीले भने ।

मन्त्रालयको चौथो तलाको मिटिङ हलमा सवा २ बजे तिरबाट सुरु भएको छलफल चल्दै गर्दा ३ बजे केही नर्सका प्रतिनिधिले ढोका बाहिर सिसाबाट कम्प्युटरमा प्रिन्ट गरिएका नारा प्रदर्शन गरेका थिए ।

त्यसअघि नर्सिङ एसोसिएसन साथै नर्सका अरु प्रतिनिधिहरुले आफ्ना मागका विषयहरु राखेका थिए । उता निजी मेडिकल कलेज र निजी अस्पताल सञ्चालकहरुको संस्था (अफिन)का प्रतिनिधिले पनि आफ्ना प्रस्ताव राख्दै थिए ।

नर्सिङ संघका अध्यक्ष प्राध्यापक चन्द्रकला शर्माले सरकारले तोकेको तलव स्टाफ नर्सको (पाँचौँ तह) ३४ हजार ७३० रुपैयाँ हुनु पर्ने बटम लाइन अघि सारेकी थिईन । बिराटका सञ्चालक समेत रहेका डा कार्कीले भने नर्सका मागका विषयमा आफूहरु सकारात्मक रहे पनि स्रोतका लागि राज्यसंग थप छलफलको आवश्यकता परेको बताएका थिए ।

त्यसअघि नर्सिङ संघकी महासचिव डा. देवका आचार्य, आन्दोलनर नर्सका प्रतिनिधि डा लक्ष्मी तामाङ, ज्योति रानाभाट, नर्सिङ काउन्सिलका अध्यक्ष प्राध्यापक सरला केसी लगायतले नर्सहरुको श्रम शोषण भइरहेको भन्दै बन्द गर्नुपर्ने बताएका थिए ।

उता अफिनका तर्फबाट रामशरण भण्डारी लगायतले निजी अस्पताल तथा मेडिकल कलेजहरुले संयुक्त रुपमा सरकार समक्ष केही प्रस्ताव गरेको भन्दै त्यस विषयमा पनि संगै छलफल अघि बढ्नु पर्ने बताएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रलाय गुनासो इकाईका प्रमुख डा. अनुप बास्तोलाले बैठकको सहजिकरण गरेका थिए ।

निजी मेडिकल कलेज सञ्चालक, निजी अस्पताल सञ्चालकहरु बाहिरिएपछि अहिले आन्दोलनरत नर्सका प्रतिनिधि, नर्सिङ संघका प्रतिनिधिहरु संग मन्त्रालयका प्रतिनिधिहरुले छलफल गरिरहेका छन् ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *