एक सातामा २७४ जनामा डेंगी संक्रमण पुष्टी

काठमाडौँ, १४ असोज । पछिल्लो एक सातामा देशभर २ सय ७४ जनामा डेंगी संक्रमण पुष्टी भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसिडी)का अनुसार पछिल्लो एक साताको अवधिमा ७५ जिल्लामा २ सय ७४ जनामा डेंगी संक्रमण पुष्टी भएको हो ।
यो सँगै नेपालमा गत पुस यता डेंगी सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ९६ पुगेको छ ।
जसमध्ये सबैभन्दा धेरै गण्डकी प्रदेशमा १ हजार ३ सय २७ जनामा डेंगी पुष्टि भएको छ ।
त्यसैगरी, बागमतीमा १ हजार १ सय ९१, लुम्बिनीमा ९ सय ११, कोशीमा ७ सय ३७, सुदूरपश्चिममा ६ सय २२, कर्णालीमा २ सय ९६ र मधेशमा १ सय १२ जनामा डेंगी पुष्टि भएको छ ।
पछिल्लो चौबिस घण्टामा २३ जनामा डेंगी सङ्क्रमण पुष्टि भएको छ । हालसम्म २ जना सङ्क्रमितको मृत्यु भएको इडीसिडीले जनाएको छ ।
डेंगी रोग संक्रमण भएको पोथी जातको लमखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्दछ। यो रोग चितवनमा पहिलोपटक सन् २००४ मा देखिएको हो।
यसबाट बच्न झूल लगाएर सुत्ने, साँझ–बिहान कपडा लगाएर मात्र बाहिर निस्कने, खाल्डाखुल्डीमा पानी जम्न नदिने, टायर, बोतल र ड्रम नियमित सरसफाइ गर्ने तथा पानी जम्न नदिए डेंगी सङ्क्रमण रोकथाम गर्न सकिन्छ ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



