औषधी पसल खोलेर लागू औषधको कारोबार, सञ्चालक साह पक्राउ परे
रौतहट, ९ असोज । औषधी पसल खोलेर लागुऔषध कारोबार गर्ने एक सञ्चालक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चन्द्रपुर नगरपालिका–७ नयाँबस्तीका ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरोका सई तुल प्रसाद पुडासैनीको कमाण्डमा खटिएको टोलीले साहको औषधी पसलमा छामा मार्दा प्रतिबन्धित लागुऔषध ट्रामाडोल बिक्री वितरण गर्ने गरेको पाइएको उल्लेख गरिएको छ । व्युरोको टोलीले साहको पसल र घर दुबै ठाउँमा अनुसन्धान गर्दा ठूलो मात्रामा लागुऔषध बरामद भएको छ।
सोही क्रममा प्रहरी टोलीले ना.३३ प ९५३३ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा साहकै साथबाट ट्रामाडोल ३०० पत्ता, ३,००० पिस बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।
बरामद मोटरसाइकल, लागुऔषध र व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरी पोष्ट चन्द्रनगाहपुर तल्लो बजारमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रण ब्युरोका अनुसार प्रारम्भिक अनुसन्धानमा साहले मेडिकल व्यवसायको आडमा लामो समयदेखि ड्रग्स बिक्री गर्दै आएको आशंका गरिएको छ।
सम्पर्क इमेल : [email protected]