ध्वनी चिकित्सा सम्बन्धी पाठ्यक्रम सहितको पुस्तक प्रकाशन
काठमाडौं । योगी नरहरीनाथको सानिन्ध्यमा दीक्षा प्राप्त गरेका राजाराम पाण्डेले ध्वनी चिकित्सा सम्बन्धी पाठ्यक्रम सहितको पुस्तक प्रकाशन गरेका छन्।
पाण्डेले प्रकाशन गरेको ध्वनी चिकित्सा सम्बन्धी पाठ्यक्रम सहितको पुस्तक नेपालमै पहिलो भएको दाबी गरिएको छ।
घटस्थापनाको अवसर पारेर ध्वनी चिकित्सामा ३० वर्ष लामो अनुभव भएका पाण्डेले ३ सय ६८ पृष्ठको पुस्तक ध्वनी चिकित्सा लोकार्पण गरेका हुन्। प्राचीन प्राकृतिक चिकित्सा तथा ध्वनी चिकित्सा केन्द्र सिनामंगलमा आयोजित एक कार्यक्रममा पञ्चकन्याले पुस्तकको लोकार्पण गरेका हुन्। नेपालमा परापूर्वकालदेखि प्रचलनमा रहेको ऊर्जा चिकित्सा एवं ध्वनी चिकित्सालाई विश्वव्यापी बनाउन योगी नरहरीनाथ र पाण्डेले विश्वविद्यालय सञ्चालनमा ल्याउन ३ दशकअघि नै प्रयास गरेपनि विविध कारणले सो सम्भव भएको थिएन।
पाण्डे विगत लामो समयदेखि नेपाल र विश्वभर भ्रमण गरेर ध्वनी चिकित्सा सेवा विस्तार र प्रवर्द्धनमा क्रियाशिल छन्। ध्वनी चिकित्साले मूलतः तनमय शरीर र मनमय शरीरका विविध समस्यालाई समाधान गर्ने उनको भनाइ छ। साउण्ड बलको प्रयोग गरि लयवद्ध ध्वनी शरीरमा प्रशारित गराई उपचार गर्ने गरिन्छ। जसले गर्दा टाउकोदेखि खुट्टासम्मको दुखाईका विभिन्न समस्या, नशा, हड्डी च्यापिएका समस्या लगायत मानसिक समस्याहरु डिप्रेशन, एन्जाइटी, अनिद्रा, डिमेन्सिया, अन्जाइमर्स डिजिजहरुमा ध्वनी चिकित्सा प्रभावकारी हुने पाण्डेको भनाइ छ।
मानिसको शरीरमा हुने ७ वटा चक्रमा आधारित भएर ध्वनी चिकित्साको उपचार हुने गरेको छ। मूलाधार चक्र, स्वाधिष्ठान चक्र, मणिपुर चक्र, अनाहत चक्र, विशुद्धी चक्र, आज्ञा चक्र र सहस्रार चक्रका आधारमा ध्वनीले थेरापी दिँदा कल्पनै नगरेका समस्यापनि समाधान हुने भन्दै लेखक पाण्डेले विश्वभर ध्वनी चिकित्साको माग उच्च रहेको बताए।
‘नेपालमा पनि पछिल्लो समय ध्वनी थेरापीको प्रचलन बढेको छ। ध्वनी चिकित्सामा संलग्न र संलग्न हुन चाहानेहरुका लागि पुस्तक सहयोगी हुने भएकाले लामो समयको मेहेनतबाट पुस्तक निकालेको छु। यो हाम्रो प्राचिन परम्परा हो। यसलाई दस्तावेजीकरण गर्न पाएकोमा हर्षित छु।’ पाण्डेले बताए।
ध्वनी चिकित्सा पुस्तक घटस्थापनादेखि नै बजारमा उपलब्ध हुने उनले बताए ।
सम्पर्क इमेल : [email protected]