जलेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नजलेको एउटा ‘सूचना’

काठमाडौँ, २७ भदौ । जेनजी अन्दोलनले विध्वंशात्मक रुप लिदा गत २४ भदौका दिन  सिंहदरबार, सर्बोच्च अदालतसहितका ठूला सरकारी भवनसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पनि जलेर खरानी भयो ।

मन्त्रालय रहेको चार तल्ले भवनको सबै कोठा जले, कोठा भित्रका कागजपत्र, दराज टेवल कुर्ची लगायतका फर्निचर, कम्प्युटर प्रिन्टर लगायतका सबै सामान जले, भवन बाहिर परिसरमा रहेका २४ वटा गाडी, झण्डै त्यतिकै संख्यामा मोटरसाइकल तथा स्कुटर पूर्ण रुपमा जले, केही हराए तर अचम्मको कुरा मन्त्रालय छिर्ने गेटमा रहेको सानो सूचना भने जलेन ।

त्यो सूचनाले खण्डहर भवनमा जाने जो कोहीलाई अहिले पनि उज्यालोसंग हेरिरहेको भान हुन्छ । हो मन्त्रालयको मुल गेटमा टाँसिएको ‘धुम्रपान निषेध’  सम्वन्धी सूचना जलेको छैन ।

त्यस दिन मन्त्रालयको चार तला माथि रहेको बोर्ड जल्यो, भित्र राखिएका अरु सूचनाहरु सबै जल्यो, जले पछि ध्वाँसिएको मन्त्रालयको मूल गेटमा टाँसिएको सूचना अहिले पनि टलक्क देखिएको छ ।

 

धूमपान तथा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रयास विश्व जगतमै चर्चित छ ।

सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि गरेको नीतिगत कामकै कारण मन्त्रालयले ब्लुम्बर्ग अवार्ड देखि विश्व स्वास्थ्य संगठनको स्पेशल अवार्डसम्म हात पारिसकेको छ ।

संयोग नै भन्नु पर्छ होला, मन्त्रालयको मन्त्रालयसंगै अगाडीको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन ईकाई (एचईओसी) कार्यालय दनदनी जल्दा संगै जोडिएको स्वास्थ्य करकोषको सचिवालयको बोर्ड पनि सग्लै देखिन्छ ।

सचिवालयको झ्यालको सिसा फुटे पनि त्यति धेरै क्षति पनि देखिएको छैन ।

यो सचिवालयले पनि सुर्तीजन्य पदार्थमा उठेको करबाट प्राप्त रकमको व्यवस्थापन तथा सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी क्रियाकलाप गर्दै आईरहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *