एभरेष्ट अस्पतालमा मृत्यु भएका तीन जनाको सनाखत
काठमाडौँ, २३ भदौ । जेन जी आन्दोलनका क्रममा प्रहरीको गोली लागि नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पतालमा उपचारका क्रममा निधन भएका तीन जना आन्दोलनकारीको पहिचान खुलेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार ललितपुर महानगरपालिका ७ दुपाटका ३० वर्षीय विनोद महर्जनको दिउसो १ : ५८ बजे निधन भएको हो ।
यस्तै काभ्रे तेमाल गाउपालिका ७ स्थायी घर भई पाटन ढोका बस्ने वर्ष ४२ को दिलनारायण तामाङको दिउसो २:४० बजे निधन भएको हो ।
यस्तै दुवाकोट भक्तपुरका २३ वर्षीय योगेश न्यौपानेको दिउसो ३:४५ बजे उपचारको क्रममा निधन भएको हो । अस्पतालका निर्देशक डा नरेश गिरीले मृतक तीन जनालाई नै गोली लागेको उल्लेख गरे ।
दिउसो रणमैदान बनेको बानेश्वर क्षेत्रबाट नजिक रहेको सो अस्पतालमा १०५ जना उपचारका लागि आएको र गम्भीर घाईते ८ जनालाई ट्रमा सेन्टर, वीर र त्रिवि शिक्षण अस्पताल रिफर गरिएको समेत उल्लेख गरेको छ ।
सामान्य घाईतेहरुको उपचार पछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।
सम्पर्क इमेल : [email protected]