अनशनलाई निरन्तरता दिने मुडमा डा. केसी
स्वास्थ्यकर्मी भन्छन्, 'उहाँको स्वास्थ्य बिग्रियो, तत्काल थप उपचारमा लैजानु पर्छ'
काठमाडौँ, १७ भदौ । डा. गोविन्द केसीले तीन दिन देखि जारी राखेको अनसनलाई निरन्तरता दिने बताएका छन् । कैलालीको गेटामा गत आइतबार (१५ भदौमा) अनसन सुरु गर्दा डा केसीले मंगलबार (आज) सम्मका लागि अनसन बस्ने बताएका थिए ।
तर, आज विहान उनले चिकित्सक, स्वास्थयकर्मी तथा उनका शुभचिन्तक सहयोगीहरुलाई आफ्नो अनसन जारी राख्ने बताएका छन् । उनले अनसनलाई निरन्तरता दिने बताईरहँदा उनको स्वास्थ्य थप बिग्रन सक्ने भन्दै चिन्ता गरिएको छ ।
गेटामा उनको स्वास्थ्य जाँच गरेका स्वास्थ्यकर्मीहरुले आज विहानको रिपोर्ट सार्वजनिक गर्दै रगतमा सुगरको मात्रा ३७ एमजी/ डीआई पाइएको बताएका छन् । यस्तै मुटुको चालमा गडबडी, मांसपेशी दुख्ने बाउडिने लगायतका समस्या देखिएको बताए । उनीहरुले डा. केसीले थप उपचार गर्न नमानेको समेत बताएका छन् ।
निजी मेडिकल कलेजहरुलाई एमबीबीएस र बीडीएस सिट बढाउने निर्णय फिर्ता लिईनु पर्ने, विश्वविद्यालय तथा प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ती सम्वन्धी एकीकृत मापदण्ड सम्वन्धी ऐन पारित गर्नु पर्ने, लिपुलेक लगायतका भारतबाट अतिक्रमित जग्गा फिर्ता हुनुपर्ने, गाजा र युक्रेन लगायतका देशमा भएका नरसंहारकारी युद्ध रोकिनुपर्ने लगायतका मागहरु राखेर डा केसीले अनसन थालेका हुन् ।
तर, पछिल्लो तीन दिनमा उनका मागको विषय सम्वन्धित निकायले सुनुवाई गरेको सुनिएको छैन । डा. केसीको यो २३ औँ अनसन हो ।
सम्पर्क इमेल : [email protected]