छ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकालाई ‘स्वर्ण विन्दु प्राशाण’ खुवाईदै

निर्देशिका बन्यो, विभागले छुट्यायो १ करोड रुपैयाँ
188
Shares

काठमाडौँ, ३ भदौ । बालबालिकाको रोग प्रतिरोध क्षमता विकासका लागि भन्दै सरकारले आयुर्वेदिक पद्धतीबाट तयार गरिएको स्वर्ण विन्दु प्राशाण थोपा वितरण गर्ने कार्यक्रम अघि बढाएको छ । पहिलो चरणमा छ महिना देखि ५ वर्ष उमेर समूहका बालबालिकाहरुलाई यो थोपा खुवाईने भएको छ ।

त्यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका समेत बनाएर स्विकृत समेत गरिसकेको छ । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले निर्देशिका स्वीकृत गरेपछि यसालाई तिब्रताका साथ कार्यान्वयनमा योजनामा मन्त्रालय लागेको बुझिएको छ ।

आयुर्वेद तथा बैकल्पिक सेवा विभागका निमित्त महानिर्देशक डा श्यामबाबु यादवले पहिलो चरणमा २५ वटा स्वास्थ्य संस्थामार्फत स्वर्ण विन्दु प्राशाण थोपा कार्यक्रम सुरु गर्न लागेको बताए । त्यसका लागि विभागले करीव १ करोड विनियोजन गरेको समेत जानकारी दिए ।

‘यस कार्यक्रमका लागि विभागले स्वास्थ्य संस्थाहरुलाई अधिकतम ५ लाख रुपैयाँ र न्युनतम ३ लाख रुपैयाँका दरले बजेट उपलव्ध गराउँदै छ,’ उनले भने ।

डा. यादवले अहिलेसम्म स्वदेशी उद्योगहरुले यसको उत्पादन नगरेकोले अहिले सुरु हुने कार्यक्रममा विदेश (भारत)बाट आयातित भष्म नै प्रयोग हुने जिकिर गरे ।

कतिपयले अहिलेको कार्यक्रममा प्रयोग हुने भष्म औषधी व्यवस्था विभागमा दर्ता नभएको भनेर समेत चर्चा गरेका थिए । तर विभागका महानिर्देशक नारायण ढकालले विदेशी कम्पनीले उत्पादन गरेको भष्म दर्ता भएको र आयात गर्न मिल्ने अवस्थामा रहेको स्पष्ट पारे ।

‘विभागमा भष्म दर्ता छ, तर विदेशी कम्पनीको । स्वदेशी कम्पनीहरुले अहिलेसम्म बनाएर दर्ता गरेको मलाई थाहा छैन,’ उनले भने, ‘अव विस्तारै स्वदेशी कम्पनीको पनि आउला ।’

के हो स्वर्णविन्दु प्राशाण थोपा ?

आयुर्वेद चिकित्सा विज्ञानको बालबालिकाको स्वास्थ्य संरक्षतण, प्रवर्द्बन उपचार पुनर्स्थापना सम्बन्धी ग्रन्थ कौमारभृत्यको मूल ग्रन्थ काश्यप संहितामा बालबालिकाको सर्वाङ्गिण विकासका लागि स्वर्ण बिन्दु प्राशनको वर्णन गरिएको छ।

स्वर्ण भष्मलाई घ्यू र महमा मिसाएर लेहमा परिणत गरी थोपा अंशको रुपमा सेवन गराइने विधिलाई स्वर्ण विन्दु प्राशन भनिन्छ।

बालबालिकाहरुको शारीरिक तथा मानसिक विकासका साथै रोग प्रतिरोधात्मक क्षमता बढाउन स्वर्णबिन्दु प्राशनको महत्वपूर्ण भूमिका रहेको छ।

आयुर्वेदको ग्रन्थ एवं शास्त्रीय मतानुसार प्रचलनमा रहेको स्वर्ण प्राशन कार्यक्रमलाई थप व्यवस्थितरुपमा सञ्चालन गर्न गत १ भदौमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रिस्तरीय निर्णयबाट निर्देशिका स्वीकृत गरेको छ ।

निर्देशिका जारी गर्नुको भुख्य मुख्य उद्देश्य स्वर्णप्राशनको सुरक्षित, सरसफाइयुक्त र प्रभावकारी रूपमा यसको सेवन सुनिश्चित, पारम्परिक आयुर्वेदिक पद्धतिलाई आधुनिक सुरक्षा र गुणस्तर मापदण्डअनुसार संरक्षण गर्नु भएको बताइएको छ ।

यस्तै स्वर्ण विन्दु प्राशनबाट बाल स्वास्थ्य सम्वर्धनको साथै मातृशिशु स्वास्थ्य सम्वर्धनका कार्यक्रम समेत सञ्चालन गर्नु पनि रहेको छ ।

बालबालिकालाई कसरी खुवाउने ?

निर्देशिकामा भनिएको छ, ‘स्वर्णबिन्दु प्राशन प्रत्येक महिनामा पुष्या नक्षत्रको दिन उल्लिखित स्वास्थ्य संस्थामा आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको मात्रामा खुवाईनेछ। यस कार्यक्रमबाट ६ महिनादेखि ५ वर्षसम्म वर्ष सम्मका बालबालिकाहरु लाभान्वित हुनेछ। यस कार्यक्रममा ज्वरो, अजीर्ण, झाडा पखाला, आउँ, रुघा खोकी सर्दी मर्की भएका बालबालिकाहरुलाई सहभागी गराईने छैन।’

यस स्वर्णबिन्दु प्राशन कार्यक्रमबाट बालबालिकाको समग्र स्वास्थ्य संरक्षण र प्रवर्द्बन भई रोग प्रतिरोधात्मक क्षमता बढ्ने अपेक्षाका साथ यसवर्षबाट राष्ट्रिय कार्यक्रमकोरुपमा सञ्चालन गरिएको छ।

आगामी वर्षमा क्रमिकरुपमा आयुर्वेद स्वास्थ्य संस्था रहेका सबै स्थानीयतहमा विस्तार गरिनेछ। यसपटक भने कार्यक्रममा २५ वटा आयुर्वेदिक स्वास्थ्य संस्थामार्फत यो कार्यक्रम लागू हुन्छ ।

कहाँ कहाँ लागू हुँदैछ ?

पहिलो चरणमा लागु हुने केन्द्रहरु :

(क) प्रादेशिक आयुर्वेद चिकित्सालय बिजौरी दाङ

(ख) त्रि वि आयुर्वेद शिक्षण अस्पताल कीर्तिपुर

(ग) आयुर्वेद चिकित्सालय नरदेवी

(घ) राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ

(ङ) प्रादेशिक आयुर्वेद चिकित्सालय, धनगढी, सुदुरपश्चिम प्रदेश

(च) प्रादेशिक आयुर्वेद चिकित्सालय, लखनपुर, झापा, कोशी प्रदेश

(छ) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,पर्सा, मधेश प्रदेश

(ज) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,धनुषा, मधेश प्रदेश

(झ) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय,सर्लाही, मधेश प्रदेश

(ञ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, काठमाडौं, वागमति प्रदेश

(ट) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, ललितपुर, वागमति प्रदेश

(ठ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, भक्तपुर, वागमति प्रदेश

(ड) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, चितवन वागमति प्रदेश

(ढ) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट, वागमति प्रदेश

(ण) आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, मकवानपुर, वागमति प्रदेश

(त) जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मोरंग, कोशी प्रदेश

(थ) गण्डकी आयुर्वेद अस्पताल, पोखरा, गण्डकी प्रदेश

(द) धौलागिरि आयुर्वेद अस्पताल, बागलुंग, गण्डकी प्रदेश

(ध) प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, तनहुँ, गण्डकी प्रदेश

(न) लुम्बिनि आयुर्वेद चिकित्सालय, बुटवल, लुम्बिनी प्रदेश

(प) बर्दिया आयुर्वेद स्वास्थ्य केन्द्, गुलरिया, लुम्बिनी प्रदेश

(फ) प्रादेशिक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्र, सुर्खेत , कर्णाली प्रदेश

(ब) आयुर्वेद स्वास्थ्य केन्द्र, दैलेख, कर्णाली प्रदेश

(भ) आयुर्वेद स्वास्थ्य केन्द्र, जुम्ला, कर्णाली प्रदेश

(म) राप्ती आयुर्वेद चिकित्सालय, दांग, लुम्बिनी प्रदेश

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *