सिंहदरबार बैद्यखानासंग दुई करोड २० लाख रुपैयाँको औषधी खरीद गर्दै कोशी प्रदेश सरकार
काठमाडौँ, २ भदौ । कोशी प्रदेश सरकारले सिंहदरबार वैद्यखाना विकास समितिसँग औषधी खरिदका लागि सम्झौता गरेको छ ।
प्रदेशको स्वास्थ्य सेवा प्रणालीमा आयुर्वेदलाई बलियो बनाउने उद्देश्यका साथ प्रदेश स्वास्थ्य मन्त्रालयले वैद्यखानासँग २ करोड २० लाख रुपैयाँ बराबरको औषधी खरिद गर्ने सम्झौता गरेको हो ।
यो सम्झौतासँगै सिंहदरबार वैद्यखानासँग सरकारी–सरकारी (जीटुजी) मोडलमा सिधै औषधी खरिद गर्ने कोशी देशको पहिलो प्रदेश बनेको छ ।
सोमबार विराटनगरमा आयोजित एक कार्यक्रममा कोशी प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर भएको हो । मन्त्रालयको तर्फबाट स्वास्थ्य सचिव डा. राधिका थपलिया र सिंहदरबार वैद्यखाना विकास समितिको तर्फबाट कार्यकारी निर्देशक डा. प्रदीप केसीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
चालु आर्थिक वर्षका लागि विनियोजन गरिएको २ करोड २० लाख रुपैयाँ बजेटबाट मन्त्रालयले वैद्यखानाद्वारा उत्पादित २३ प्रकारका अत्यावश्यक आयुर्वेदिक औषधी खरिद गर्नेछ । यो बजेट तीन मुख्य स्रोतबाट जुटाइएको हो, जसमा आपूर्ति व्यवस्थापन केन्द्र कोशीका लागि ६३ लाख, जिल्ला आयुर्वेद अस्पतालहरूका लागि ६७ लाख र संघीय सरकारबाट प्राप्त अनुदानको ९० लाख रुपैयाँ समावेश छ ।
कार्यक्रममा प्रदेशका स्वास्थ्यमन्त्री भुपेन्द्र राईले प्रदेश सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील रहेको र सुशासन कायम गर्दै गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको बताए । ‘हामीले जनतालाई वितरण गर्ने औषधी गुणस्तरीय हुनैपर्छ । सिंहदरबार वैद्यखाना नेपालको गौरव हो र यसको आफ्नै ऐतिहासिक विरासत छ,’ मन्त्री राईले भने, ‘त्यसैले हामीले टेन्डर प्रक्रियाको झन्झटमा नपरी सिधै वैद्यखानासँग सम्झौता गरेका हौँ । यसले पारदर्शिता सुनिश्चित गर्छ र जनताले उत्कृष्ट औषधी पाउँछन् ।’
मन्त्रालयकी सचिव डा. राधिका थपलियाले सिंहदरबार वैद्यखानाको लामो र गौरवपूर्ण इतिहास रहेको बताउँदै यसका उत्पादनहरू गुणस्तरीय र विश्वसनीय भएकोले नै सहकार्यका लागि रोजिएको स्पष्ट पारिन् । इतिहास बोकेको संस्थाबाट गुणस्तरीय औषधी खरिद गर्ने उनले बताइन् ।
सचिव थपलियाका अनुसार, प्रदेश स्वास्थ्य मन्त्रालय मातहत रहेका १५ वटा अस्पताल र आपूर्ति व्यवस्थापन केन्द्र गरी कुल १६ निकायले औषधी खरिद गर्नेछन् । ती निकायले आफ्नो आवश्यकता र बजेटको आधारमा औषधीको सूची तयार पारेर सोझै वैद्यखानाबाट खरिद गर्नेछन् ।
यस सम्झौताको सबैभन्दा उल्लेखनीय पक्ष भनेको खरिदमा प्राप्त हुने १८ प्रतिशत छुट हो । सचिव थपलियाले भनिन्, ‘सिंहदरबार वैद्यखानासँग सिधै खरिद गर्दा हामीले १८ प्रतिशत छुट पाउनेछौँ । यो प्रदेश सरकारका लागि ठुलो आर्थिक बचत हो ।’
सिंहदरबार वैद्यखाना विकास समितिका कार्यकारी निर्देशक डा. प्रदीप केसीले यो सम्झौतालाई ऐतिहासिक भन्दै कोशी प्रदेशले अग्रगामी कदम चालेको बताए ।
‘सात प्रदेशमध्ये सरकारीस्तरमा सिधै हामीसँग औषधी खरिद गर्ने कोशी पहिलो प्रदेश हो,’ डा. केसीले भने, ‘यो सहकार्यले वैद्यखानालाई मात्र नभई समग्र आयुर्वेद क्षेत्रलाई नै प्रोत्साहन मिलेको छ ।’
उनले वैद्यखाना गुणस्तरीय औषधी उत्पादन गर्न पूर्ण सक्षम रहेको र हाल ५७ प्रकारका औषधी उत्पादन गरिरहेको जानकारी दिए ।
सम्पर्क इमेल : [email protected]