मेडिकल व्यवसायी दुर्गा प्रसाईँले गरे पार्टी खोल्ने घोषणा

32
Shares

काठमाडौँ, २ भदौ । मेडिकल कलेज तथा अस्पताल सञ्चालक दुर्गा प्रसाईँले राजनीतिक दल खोल्ने घोषणा गरेका छन् । भक्तपुरस्थित आफ्नै निवासमा आज पत्रकार सम्मेलन गर्दै प्रसाईँले दल खोल्ने घोषणा गरेका हुन् ।

‘मेरो दल राजावादी होईन, राष्ट्रवादी हुन्छ, सके २०८४ मा नभए २०८९ मा मेरो दलले ७० प्रतिशत मतका साथ सरकारको नेतृत्व गर्नेछ,’ उनले भने ।

गत १५ चैतमा घटेको तिनकुने घटनापछि पहिलो पटक पत्रकार सम्मेलन गरेका उनले सो घटनामा राष्ट्रिय प्रजातन्त्र पार्टी र सत्ता साझेदारको घुसपैठ भएको आरोप लगाए । उनले घटनानको जिम्मेवारी पनि उनीहरुले नै लिनु पर्ने बताए ।

एक प्रसंगमा प्रसाईले आफू राजावादी नभई राष्ट्रवादी भएको भन्दै राजा समेत राष्ट्रवादी भएको बताए । उनले राजसंस्थाको विषयमा कुटनीतिक रुपमा जवाफ दिदै भने ‘भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो,’ प्रसाईंले भने, ‘राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।’

प्रसाईँ नेतृत्वको बीएण्डसी मेडिकल कलेज लामो समय सम्वन्धन रोकिएपछि गतवर्ष देखि सञ्चालनमा आएको छ । यसपटक चिकित्सा शिक्षा आयोगले बीएण्डसीलाई एमबीबीएसमा ६० सिट तोकेको छ । यस्तै बीएण्डसी परिसरमा नै उनले पूर्वाञ्चल क्यान्सर अस्पताल समेत सञ्चालनमा ल्याएका छन् ।

१५ चैतको घटनामा आफूलाई मार्ने योजना भएको थाहा पाएपछि भागेको बताउँदै प्रसाईँले सरकारले अस्पतालको खाता रोक्का गरी उपचाररत बिरामीलाई नै अलपत्र पार्न आटेको थाहा पाएपछि आफूले आसाम प्रहरीमार्फत आत्मसमर्पण गरेको बताए ।

पत्रकार सम्मेलनका क्रममा उनले आफ्नो नीति र योजनाबारेमा भिडियो सामग्री समेत देखाएका थिए ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *