न्युरो साइन्स सम्बन्धी छ दिने अन्तराष्ट्रिय कार्यशाला  काठमाडौँमा जारी

नेशनल लेभलको न्युरो साइन्स सम्वन्धी ल्याव र म्युजियम खोल्ने पनि  योजना छ: अध्यक्ष डा. कुवँर
356
Shares

काठमाडौँ, १९ साउन ।  न्युरो साइन्स सम्बन्धी छ दिने अन्तराष्ट्रिय कार्यशाला काठमाडौंमा जारी छ ।

गत १ अगष्ट देखि सुरु भएको ‘पाँचौँ न्युरोसाइन्स स्कूल नेपाल’ नामक कार्यशाला इन्टरनेशनल ब्रेन रिसर्च अर्गनाइजेसन (इबरो) को सहयोग तथा न्युरो साइन्स सोसाइटी अफ नेपालको आयोजनामा गरिएको हो ।

कार्यक्रमका संयोजक सन्दीप थापाका अनुसार नेपालसहित भारत, जापान, चीन, थाइल्याण्ड, मलेसिया, इन्डोनेसिया लगायतका देशबाट ३० बढीको सहभागिता छ ।

कार्यशालामा न्युरो साइन्ससंग जोडिएका अनुसन्धानकर्ता, क्लिनिकल, चिकित्सक, प्रोफेसर, यससंग जोडिएका विद्यार्थीहरु सहभागी छन् ।

आगामी ६ अगष्टसम्म चल्ने स्कुलमा न्युरोसाइन्सको उपचार तथा अनुसन्धान सम्बन्धी विभिन्न विधामा बृहत रुपमा छलफल हुने बताईएको छ ।

कार्यक्रममा आयोजक संस्था न्युरो साइन्स सोसाइटी अफ नेपालका अध्यक्ष डा. अजयजंग कुँवरले नेपालमा यसअघि चार वटा कार्यशाला सफलता पुर्वक सम्पन्न गरिसकेको भन्दै अहिले कार्यशालाको पाँचौँ संस्करण भएको बताए ।

‘न्युरो साइन्स निकै बृहत छ यस अन्तर्गत विभिन्न देशमा भएका गतिविधी तथा नयाँ नयाँ प्रयोगका बारेमा यस स्कुलमा छलफल हुनेछ । उनले अगाडी थपे, ‘यो वर्कशप एउटा यस्तो प्लेटफर्म हो जहाँ न्युरो साइन्समा रुचि राख्नेलाई धेरै कुरा सिक्ने मात्र हैन, पछि कुन विषयमा आफूलाई रुचि हुन्छ त्यही विषयमा पढ्न तथा अनुसन्धानमा अघि बढ्न सहयोग पनि पुग्छ । यो एउटा डाक्टर, विज्ञ, अनुसन्धानकर्ता बीचको नेटवर्किङ पनि हो।’

उनले न्युरो साइन्समा हाल नेपालले गरेका काम तथा उपलब्धी देखाउने तथा अन्य देशमा भएका नयाँ कुराहरुको बारेमा थाहा पाउन सिक्न यो निकै राम्रो थलो बन्ने विश्वास लिएको पनि जिकीर गरे ।

‘न्युरो साइन्सका विषयमा विश्वमा के भईरहेको छ ? हामी के गर्दैछौँ ? नयाँ नयाँ अनुसन्धानहरु के कस्ता भईरहेका छन् ? कहाँ निर ग्याप छ ? यी विषयमा सिक्छौँ ? अनुभव र जानकारीहरु आदान प्रदान गर्छौं र सिकाउँछौँ,’ न्युरो साइन्स सोसाइटी अफ नेपालका उपाध्यक्ष डा. बरुण महत बताउँछन् ।

यस्तै संस्थाका महासचिव डा. मुकेशकुमार झाले न्युरो साइन्समा धेरै काम गर्नु पर्ने र गर्न सकिने खालका भए पनि त्यो हुन नसकेको भन्दै यसका लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समन्वय गरेर अघि बढ्न पनि यस्ता कार्यक्रमले सहयोग गर्ने बताए ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा प्रदीप ज्ञवावीले न्युरो साइन्स सोसाइटी अफ नेपालले अनुसन्धानका क्षेत्रमा धेरै काम गरिरहेको भन्दै राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थासंग सहकार्य योजनामा आफूहरुको साथ रहने बताए । ‘न्युरोसाइन्स मास्टर कन्ट्रोल ब्रेनमा छ तर यस विषयमा अध्ययन नै कम छ । नेपालमा खासगरी बेसिक साइन्स लेभलको रिसर्च, ल्वारोटरी बेसको रिसर्च कम छ । यसलाई एकेडेमिक लेभल मास्टर र पीएचडी लेभलको काम गर्न राष्ट्रिय अन्तराष्ट्रिय रुपमा कोल्याब्रेसन गर्न प्रतिष्ठान इच्छुक छ,’ उनले भने ।

नेशनल लेभलको न्युरो साइन्स सम्वन्धी ल्याव र म्युजियम खोल्ने पनि  योजना छ: अध्यक्ष डा. कुवँर

सन् २०१५ मा दर्ता भएको न्युरो साइन्स सोसाइटी अफ नेपालले सन् २०१६ देखि न्युरो साइन्स स्कुल सञ्चालन गर्दै आएको छ । पहिलो स्कुल नगरकोटमा २०१६ मा भएको थियो । त्यस यताको यो पटक पाचौँ संस्करण हो ।

न्युरो साइन्सको रिसर्चमा के भइरहेको छ ? न्युरोलोजी अथवा न्युरो डिसअर्डडमा के भईरहेको छ ? कसरी उपचार भइरहेको छ ? उपचारका लागि बायोलोजिकल वा मोलिक्युल लेभलमा रिसर्च कसरीे इप्लिकेसन भइरहेको छ ? भन्ने विषयमा जानकारी मुलक प्रस्तुति तथा अब के गर्ने ? कसरी गर्ने ? भन्ने विषयमा सहभागीबीच घनिभुत छलफल भइरहेको छ ।

यसमा धेरै सहभागीहरु नेपाली नै हुन्छन् । नेपालीहरुले विदेशी प्रोफेसरबाट उपचार र अनुसन्धानमा केही सिकुन योजनाका साथ हामीले नेपालीलाई बढी प्राथमिकता दिएका हौँ ।

नेपालमा धेरै विषयका पीएचडी कार्यक्रम छ । तर यहाँ न्युरो साइन्समा पीएचडी कार्यक्रम कुनै पनि विश्वविद्यालय वा प्रतिष्ठानले सुरुवात गरेका छैनन् । हाम्रो योजना भविस्यमा कुनै प्रतिष्ठान वा विश्वविद्यालयसंग मिलेर नेपालमै पीएचडी कार्यक्रमको विकास गर्न सकियोस भन्ने पनि हो ।

अर्को कुरा हामीले नेशनल लेभलमा रिसर्च ल्याव बनाउन खोजिरहेका छौँ । सबैभन्दा महत्वपूर्ण अंग मस्तिष्क हो तर नेपालमा यस विषयमा एकदमै अध्ययन् तथा अनुसन्धान भइरहेका छन् । त्यसैले नेशनल लेभलमा रिसर्च ल्याब बनाउन खोजेका छौँ ।
यस्तै सोसाइटीले नेशनल लेभलको म्युजिएम बनाउने पनि सोच राखेको छ ।

हामीकहाँ हवाइजहाजको म्युजिएम छ, बाजागाजाको म्युजियम छ, यसले ती चीजहरुको ज्ञान, अध्ययन् र रुची जगाउँछ । हामीले यस्तै म्युजियम मस्तिष्क सम्वन्धी पनि बनाउने सोच राखेका छौँ । त्यसमा मान्छेको ब्रेन होस, भ्यागुताको ब्रेन, हात्तीको पनि होस, बाघको पनि होस, नेपालमा मात्रै हुने काँडे भ्याकुर चराको पनि होस । ताकी विभिन्न सजिव प्राणी पंक्षीको मस्तिष्कले के कसरी काम गर्दो रहेछ भन्ने जानकारी पनि होस भन्ने हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *