शुक्रराज अस्पताल र चौतारा अस्पतालबीच स्याटेलाइट क्लिनिक सञ्चालन गर्ने समझदारी

काठमाडौँ, ९ साउन । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र सिन्धुपाल्चोकको चौतारा अस्पतालबीच स्याटेलाइट क्लिनिक सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
स्याटेलाइट क्लिनिकमार्फत विशेषज्ञ तथा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने गरी समझदारी गरिएको हो । यो समझदारी आज (९ साउन) देखि लागू भएको छ ।
समझदारी पत्रमा शुक्रराज अस्पतालले सेवा प्रदान गर्ने जनशक्तिलाई प्रचलित कानून र स्वीकृत मापदण्डको अधीनमा रही यातायात र खाजा खर्चको लागि आवश्यक बजेटको व्यवस्था मिलाउनु पर्ने उल्लेख छ ।
यस्तै स्याटेलाइट क्लिनिक संचालन गर्दा आवश्यक जनशक्तिको व्यवस्था आफ्नो संस्थाको नियमित सेवा प्रभावित नहुने गरी मिलाउनु पर्नेछ ।
स्याटेलाइट क्लिनिक संचालन गर्दा प्रत्येक महिनाको दोश्रो हप्ताको आइतवार र चौथो हप्ताको आइतवार बालरोग, जनरल मेडिसिन, छाला तथा यौन रोग लगाएत अन्य विशेषज्ञ सेवाहरु संचालन गर्नुपर्ने सम्झौतामा उल्लेख छ।
दोश्रो पक्ष ९चौतार अस्पताल०ले स्याटेलाइट क्लिनिक सञ्चालन गर्न सहज वातावरण निर्माण गर्ने बताइएको छ। त्यसैगरी स्वास्थ्य संस्थासँग समन्वय गरी काम गर्नु पर्ने उल्लेख छ।
सम्झौतामा टेकुका तर्फबाट निर्देशक डा युवनिधि बसौला र चौतारका तर्फबाट निमित्त मेसु डा रुद्रमणि भण्डारीले हस्ताक्षर गरेका छन्। टेकुका प्रमुख कन्सल्ट्यान्ट डा विमल चालिसे, अस्पताल प्रशासन प्रमुख विनय खड्का र चौतारा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केशवराज गिरीको रोहबरमा सम्झौता भएको हो।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



